सरकारले आफूसँग परामर्श र सल्लाहविनै एकाएक स्थानीय तहको संख्या थप गरेकोमा निर्वाचन आयोग असन्तुष्ट
सरकारले आफूसँग परामर्श र सल्लाहविनै एकाएक स्थानीय तहको संख्या थप गरेकोमा निर्वाचन आयोग असन्तुष्ट देखिएको छ । आयोगले समय अभावका कारण थपिएका स्थानीय तहमा ३१ जेठमा निर्वाचन हुनै नसक्ने स्पष्ट पारेको छ ।
सरकारले सोमबार राति तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो । तर, त्यसको औपचारिक जानकारी आयोगले मंगलबार साँझसम्म पनि पाउन सकेको छैन । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले स्थानीय तह थप गरेको भन्ने औपचारिक जानकारी आयोगमा प्राप्त नभएको बताए । ‘हामीलाई औपचारिक जानकारी नै छैन, त्यसैले के गर्ने भन्नेमा कुनै छलफल नै भएको छैन,’ यादवले भने ।
‘हामीलाई औपचारिक जानकारी नै छैन, त्यसैले के गर्ने भन्नेमा कुनै छलफल नै भएको छैन’
आयोगलाई अप्ठ्यारोमा पारेको गुनासो
निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारले स्थानीय तहको संख्या थप गरेर आयोगलाई अप्ठ्यारोमा पारेको निष्कर्ष निकालेको आयोगका एक अधिकारीले बताए । निर्वाचन कार्यक्रम सुरु हुनै लाग्दा एकाएक नयाँ स्थानीय तह थप भएपछि समस्या हुने र त्यी समस्याबारे सरकारले आयोगसँग कुनै समन्वय नगर्नु दुःखद भएको भन्दै आयोगका पदाधिकारीहरू सरकारसँग रुष्ट हुँदै आएका छन् । ‘समस्या धेरै थुपार्ने काम गरिएको छ, आयोगलाई तयारीका लागि ठूलो समस्या पर्ने देखिन्छ,’ प्रमुख आयुक्त यादवले नयाँ पत्रिकास“ग भने । स्थानीय तहको संख्या थप भएको औपचारिक जानकारी आएपछि आयोगले आफ्नो दृष्टिकोण तत्काल सार्वजनिक गर्ने प्रमुख आयुक्त यादवले बताए ।
स्थानीय तह थपले ठूलो समस्या : मैनाली
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप गर्दा काम गर्न सकिने अवस्था नरहेको भन्दै ठूलो समस्या पर्न सक्ने बताए । उनले सरकारको औपचारिक जानकारी नआएकाले आयोगले औपचारिक रूपमा केही भन्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । थपिएका स्थानीय तहमा ३१ जेठमै निर्वाचन गर्न कठिन हुने उनको भनाइ छ । स्थानीय तह थप गर्दा मतदाता नामावली नै संशोधन गर्नुपर्ने र यसका लागि आयोगलाई १५ दिनभन्दा बढी समय आवश्यक पने उनको भनाइ छ ।
‘सरकारले स्थानीय तहको संख्या थप गरेको विषय राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याउन पनि कम्तीमा एक साता लाग्ने निर्वाचन आयोगका अधिकारीहरूको भनाइ छ । त्यसैले पनि थपिएका स्थानीय तहमा ३१ जेठमा निर्वाचन हुन असम्भव जस्तै छ,’ आयोग स्रोतले भन्यो । सचिव मैनालीले थप गरिएका स्थानीय तहबारे औपचारिक जानकारी केही नभएकाले आयोग पुरानै स्थानीय तहको निर्वाचनको तयारीमा जुटिरहेको जानकारी दिए ।



