झापामा नेपाली काँग्रेसले १३ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले मेचीनगरमा विमल आचार्य, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा एकराज उप्रेती र बुद्धशान्तिमा रमेश भुजेल गरी चार तहको प्रमुख पदको उम्मेदवार केन्द्रीय कमिटीबाट टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।
यसअघि जिल्ला समितिबाटै गौरादह गाउँपालिकामा रोहित साह, गौरीगन्ज गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी र कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो ।
कचनकबल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकामा दिलीपकुमार माबो र झापा गाउँपालिकामा जयनारायण साहलाई नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अब शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र उम्मेद्वारको टुङ्गो लगाउन बाँकी रहेको छ । पार्टीले अधिकांश नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखको टुङ्गो लागेपनि केहीमा निर्णय हुन बाँकी रहेको जनाएको छ ।



