चितवन जिल्लाको दक्षिणमा पर्ने माडीको बाँदरमुढेमा तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा बम विस्फोट गराएको आज १२ वर्ष पूरा भएको छ । सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भए पनि अहिलेसम्म पीडितले न्याय नपाएकाले आन्दोलन गर्दै आएका छन् ।
लाई स्वदेश र विदेशमा निकै आलोचित घटनाका रुपमा लिइन्छ । माओवादी केन्द्रले यो घटना भुलबस भएको भन्दै पटक–पटक माफी माग्दै पनि आएको छ ।
बाँदरमुढे घटनापीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्नेमा जोड दिँदै भने, “जति वर्ष बितेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार दोषीलाई सजाय हुनुपर्छ ।”
मृतक परिवारले प्रतिव्यक्ति पाँचलाख मात्रै पाएका छन् भने घाइतेमध्ये १८ जनाले न्यूनतम राहत पाएकाले पीडितलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
माओवादी निकटका दुई जनाले मात्र शतप्रतिशत राहत पाएको तर अन्यले भने २० प्रतिशतको हाराहारीको मात्रै राहत पाएकाले घाइतेको थप उपचार राज्यले गर्नुपर्ने र तिनका बालबच्चाको जिम्मा राज्यले लिनुपर्ने उनले बताए ।
अझै पनि १० जना घाइते काम गर्न सक्ने अवस्थामा छैनन् । कतिपयले मानसिक औषधि नियमित प्रयोग गर्दै आएका छन् भने अन्य विभिन्न समस्याका कारण नियमित औषधि खानेको सङ्ख्या पनि धेरै छ ।
माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बस कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीको एम्बुसमा पार्दा सो घटना भएको थियो ।
विसं २०६२ जेठ २३ गते घटना भएको हो । त्यतिबेला राष्ट्रिय जनमोर्चाका ठाकुर ढकाल माओवादीमा एकीकरण भएर अहिले माओवादी नेता बनेका छन् । उनी सोही ठाउँबाट नगरप्रमुख पदमा विजयी भएका छन् ।
माडी नगरपालिकाका प्रमुख ढकाल आफ्नो पहिलो एजेन्डा बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने रहेको बताउँछन् । दुईतर्फबाटै पूर्वाग्रह भएको भन्दै उनले यसलाई तोडेर मित्रताको व्यवहार गर्दै पीडितमाथि न्याय दिलाउने बताए ।
कमजोरीलाई सधैँ कोट्याउनुभन्दा जुन परिस्थिति अहिले छ, त्यसलाई समाधान गर्नेतर्फ लाग्न आफू प्रतिबद्ध रहेको उनले जोड दिए ।
पीडितका माग नगर तह र माथिल्लो निकायबाट पूरा गराउन आफू प्रतिबद्ध छु भन्दै उनले सधैँ यसलाई उचालिरहनुभन्दा समाधान गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।
घटनास्थलमा स्थापना गरिएको स्मारकमा लेखिएका शब्दका विषयमा अहिले पनि विवाद भएकाले यसलाई समाधान गर्दै नजिकै रहेको तीन बिगाहा जग्गामा पार्क निर्माण गर्ने सोही क्षेत्रमा मृतकको सम्झनामा स्मारक र मन्दिर पनि बनाइने उनले बताए ।



