नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई कडा चेतावनी दिएका छन् ।
बुधबार गृहमन्त्रालयमा पद बहालीपछि बोल्दै शर्माले प्रहरी संगठनमा राजनीतिक उद्देश्य बोकेर चलखेल गर्ने र अनुशासन तोड्नेमाथि कारबाहीको चेतावनी दिए ।
‘सुरक्षा निकायभित्र राजनीतिक उदेश्यका लागि चलखेल गर्ने, सरकारको नीति, निर्देशन पालना नगर्ने, अनुशासन तोड्ने र मिडियामा भाषण गर्दै हिंड्ने प्रवृत्तिलाई छुट हुन सक्दैन ’, उनले भने, ‘अब मिडियाबाजी गर्ने वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने कुरा बन्द गरिने छ ।’
शर्माले आफू सिपाहीदेखि महानिरीक्षकसँग समेत मिलेर काम गर्न तयार रहेको बताए । उनले राम्रा कामका लागि सिपाहीको समेत सुझाव लिएर काम गर्ने उल्लेख गरे ।
पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका शर्माले लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका थिए ।



