काठमाडौँ – नेकपा दाहाल नेपाल समूहले आधिकारिकता दाबीको लागि मंगलबार निर्वाचन आयोगलाई पत्र बुझाउने तयारी गरेको छ।साेमबार बसेकाे केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार पार्टीकाे आधिकारिकताका लागि आयाेगमा पत्र बुझाउन जाने नेता लिलामणि पाेखरेलले बताए। उनले मंगलबार मध्यान्न आयाेगलाई आधिकारिकता दाबीकाे पत्र बुझाइने बताए।त्यसका लागि अहिले नेताहरुबिच छलफल भइरहेकाे उनले जानकारी दिए। सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको यो पक्षको केन्द्रीय कमिटी बैठकले नेकपाकाे आधिकारिकताका लागि दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो।प्रतिनिधिसभा विघटनसँगै नेकपाकाे प्रचण्ड–माधव पक्षले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटि बिस्तार गरेको थियो । दुवै समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।तर गत माघ ११ गते बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गरेकाे थियाे।आयोगले पार्टी एकतापछि २०७५ साल जेठ २३ गते बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको थियो ।



