नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाएका छन् । बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताएका हुन्।उनले आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको बताए ।
‘सरकारले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक परिषदमा बलमिच्याँइ गरेको छ । यो निरकुशतन्त्रको पराकाष्ठा हो’,श्रेष्ठको भनाइ छ।
त्यस क्रममा नेता श्रेष्ठले आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने पनि प्रष्ट पारे।उनले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको बताए।उनले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताए।नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध,औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ ।यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन।प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



