के गरेर समय बिताइरहनुभएको छ ?
म विगत ४० वर्षदेखि जनताको बीचमा रहेर राजनीति गर्दै आएको छु । जनताको मायामा उहाँहरुको खाका पोल्टामा हुर्केको मानिस हुँ । जनताकै बीचमा छु । मतदाता र मेरो बीचमा घनिष्ठ सम्बन्ध छ ।
बाहिर विरोध गरे पनि भित्रभित्रै निर्वाचनको तयारीमा हुनुहुन्छ रे नि ?
म र मेरो पार्टी कहिल्यै पनि निर्वाचनको, निर्वाचनमा जनताले दिएको अभिमतको विपक्षमा जान सक्दैन । तर, आफूले हार्न लागेपछि मतपत्र च्यातिदिने र मतपत्र च्यात्नेकै मागअनुसार पुनः निर्वाचनमा जाने हो भने मतदानको के अर्थ रह्यो र ?
फेरि चुनाव भयो भने भाग नलिने ?
निर्वाचन आयोगले गरेको असंवैधानिक कामको विरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमाथि अदालतले फैसला देला । त्यसपछि निर्वाचनमा जाने कि नजाने भन्ने निर्णय हुन्छ । म अदालतमा विश्वास गर्ने मानिस हुँ । अदालतको फैसला जे आउँछ त्यसलाई मानेर अगाडि बढ्छु ।
४० वर्षदेखि जनताको खाकमा हुर्केको र मतदाताले पत्याएको दाबी गर्ने मानिसले फेरि निर्वाचनमा गएर विपक्षीलाई हराइदिए हुँदैन र ?
मतदाताले त मलाई जिताई सक्नुभएको हो । मेरा प्रतिद्वन्द्वीले आफू हार्ने निश्चित भएपछि आफ्ना एजेण्टलाई प्रयोग गरेर मतपत्र च्यात्न लगाउनुभयो ।
निर्वाचन आयोगजस्तो संवैधानिक आयोगले गरेको निर्णय मान्दिन भन्न मिल्छ त ?
निर्वाचन आयोगले सरकारको लाचार छायाँ बनेर काम गरेको छ । निर्वाचन आयोगले आफ्नो स्वतन्त्र हैसियत, निष्पक्षता र विश्वसनियता गुमाएकाले हामीले नमान्ने भनेका हौं । आयोगले भनेको जस्तो मतगणनास्थल कब्जाको स्थिति थिएन । रणभूमि भएको पनि होइन । आफूलाई नियुक्ति दिलाउने सत्ताधारीको लाचार छायाँ बनेर निर्वाचन आयोगले गलत नजिर बसाल्यो । यो नजिरले भविष्यमा पनि आयोगलाई धेरै गाह्रो पर्नेछ । यस्तै हो भनेत भविष्यमा जित्ने सम्भावना भएको कसैले पनि निर्वाचनमा उम्मेदवारै बन्न भएन । जसले हार्ने भयो उसैले मतपत्र च्यात्न पाउने, अनि उसकै मागअनुसार पुनः निर्वाचन गराउने हो भने निर्वाचन नगरेकै राम्रो ।
अदालतले पनि आयोगकै निर्णयलाई मान्यता दियो भने के गर्नुहुन्छ ?
मलाई विश्वास छ कि अदालतले सही फैसला गर्नेछ । मलाई न्याय दिनेछ । अन्यायीहरुलाई कारबाही गर्नेछ । अदालतमा विचाराधीन मुद्धामा बारेमा यसभन्दा बढी केही पनि भन्न चाहन्न । धाँधली गरेर निर्वाचनका नाममा सर्वसत्तावाद लागू गर्न खोज्नेका पक्षमा अदालत जाँदैन ।
कथमकदाचित अदालतले पनि पुनः निर्वाचनकै पक्षमा फैसला दियो भने ?
जनतालाई कपितपटक भोल हाल्न लगाउने ? एउटा अपारधीले मतपत्र च्यात्ने । अनि फेरि निर्वाचनका नाममा जनतालाई कति दुःख दिने ? फेरि चुनाव भएको अवस्थामा पनि जनता दर्जानले मलाई नै जिताउँनेछन् । हिजो पनि जिताएकै हुन् । फेरि पनि जिताउँछन् । मलाई जनतामाथि पुरै विश्वास छ । मैले त जितबाहेक केही देखेको छैन । सपनामा पनि जित देख्न थालेको छु ।
तपाईंकी प्रतिस्पर्धी रेणु दाहालका बारेमा के प्रतिक्रिया छ ?
बाबु ठूलो नेता भएकाले छोरीलाई पनि नेता हुन मन लागेर चुनाव लड्न आउनुभएको हो उहाँ । बाबु नेता हुँदैमा छोराछोरीले नेता हुन रहर गरेर हुने होइन । त्यसका लागि नेतृत्व क्षमता चाहिन्छ, बुद्धि चाहिन्छ । जनताको मन जित्नुपर्छ । मेरो त बुबा नेता हुनुहुन्न । आफ्नै बलबुतामा जनताको साथ पाएर राजनीति गरेको मान्छे हो म । ४० वर्षदेखि जनताका हरेक सुख दुःखमा साथ दिएर अनवरत रुपमा राजनीतिमा सक्रिय रहेको मानिससँग कुनै योग्यता नभएको, खाली नेताको छोरी भएकै आधारमा चुनाव उठ्न आउनु नै उहाँको दुर्भाग्य हो । दुई दिन आएर भोट मागेर नाटक गर्नेलाई जनताले विश्वास गर्दैनन् ।(काठमन्डु टुडे)



