आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रसरतामा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव सहित निर्वाचन आयुक्तहरू तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सत्तासीन दलका नेताहरूसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा चुनाव सार्ने बिषयमा सहमति नभएको पाईएको छ ।
आयोगको तर्फबाछ प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सरकारले तोके बमोजिम असार १४ गते दोस्रो चरणमा प्रदेश नं. १, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न आयोगले सम्पूर्ण तयारी पूरा गरी असार २ गते मनोनयन दर्ताको कार्यक्रम सञ्चालन गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएको आयोगले बिज्ञप्ति जारी गरेर नै उल्लेख गरेको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न मिति जेठ ३० गते गृहमन्त्रीसँग छलफल भएको र जेठ ३१ मा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको स्मरण आयोग प्रमुखले गराएका थिए । गृहमन्त्रीबाट नेपाल सरकारले स्थानीय तह निर्वाचनको लागि सुरक्षाको आवश्यक प्रवन्ध मिलाइसकिएको भनी आयोगलाई आश्वस्त पारेको पनि आयोगको भनाइ छ ।
छलफलमा गृहमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा.शशांक कोईराला, बिमलेन्द्र निधी, कृष्ण सिटौला तथा ने.क.पा. माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, मातृका यादव तथा पम्फा भूसाल सहित निर्वाचन आयोगको तर्पmबाट निर्वाचन आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाह तथा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको उपस्थिति रहेको जनाइएको छ ।



