इलाम- इलाममा बुधबार भएको स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ। साँझसम्म खसेको मतको तथ्यांक आउन बाँकी नै रहेकाले आएको मत विवरणबाट यो अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्थानीय तहका निर्वाचन अधिकृतका कार्यालयसम्म मतपेटिका पु¥याउन समय लाग्ने भएकाले जिल्लाका सबै स्थानीय तहको मतगणना बिहीबार मात्रै सुरु हुने भएको छ । ‘जिल्लाका केही मतदान केन्द्रमा फोन सम्पर्कसमेत हुन नसकेकाले कति संख्यामा मतदान भयो भन्ने यकिन विवरण आइसकेको छैन,’ मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बुधबार साँझ भने, ‘मतगणना पनि आजै सुरु हुँदैन ।’ उनले मतदान प्रक्रिया सबैतिर शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । जिल्लाभर करिब ७० प्रतिशत मत खसेको अनुमान उनले गरे ।
इलाम नगरपालिकामा करिब ७२ प्रतिशत मत खसेको अनुमान छ । सूर्योदय नपामा ७२ देखि ७५ प्रतिशत, माई नपामा ६० प्रतिशत र देउमाई नपामा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान स्थानीय निर्वाचन अधिकृतहरूले गरेका छन् । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा ७० प्रतिशत, चुलाचुली र माइजोगमाईमा ७५ प्रतिशत र सन्दकपुर गाउँपालिकामा ७१ प्रतिशत मत खसेको अनुमान स्थानीय निर्वाचन अधिकृतको छ ।

रोङ गाउँपालिकाका धेरै मतदान केन्द्रमा टेलिफोन सम्पर्क हुन नसकेकाले सबै विवरण आइनसकेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए । मतपेटिका केन्द्रसम्म पुर्याउन र त्यसपछि सर्वदलीय बैठक राख्न पनि समय लाग्ने भएकाले सबै तहको मतगणना बिहीबार मात्रै सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान सकिएपछि सबै वडाको मतपेटिका नगर वा गाउँपालिकाको केन्द्रमा जम्मा गरिन्छ । र, स्थानीय तहका केन्द्रमै मतगणना हुँदैछ।
जिल्लाका ८१ वडामा मतदाताको संख्या १ लाख ८९ हजार २ सय ७४ छ । सूर्योदय नगरपालिकामा सबैभन्दा बढी १४ वटा वडा छन् । सूनपाको मतदाता संख्या ३९ हजार ४ सय ६७ छ । १२ वटा वडा रहेको इलाम नपामा ३० हजार ६ सय १८, १० वटा वडा रहेको माई नपामा १९ हजार ४ सय ७३ र ९ वटा वडा रहेको देउमाई नपामा २१ हजार ६ सय २३ मतदाता छन् ।माइजोगमाई गाउँपालिकामा १४ हजार ८ सय ५, चुलाचुलीमा १४ हजार ७४, माङ्सेबुङमा १० हजार ९ सय ६४, फाकफोकथुममा १३ हजार ७ सय ३३, रोङमा १२ हजार ८ सय ८८ र सन्दकपुरमा ११ हजार ६ सय २९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।



