सुनसरीको इटहरी र धरान नगरपालिकामा मतगणना निकै सुस्त भएको छ । बुधबार सम्पन्न स्थानीय तहको दास्रो चरणको निर्वाचनको बिहीबार विहानदेखि मतगणना सुरु गरिएको भएपनि शुक्रबार अपराह्न ५ बजेसम्म पनि दुईवटै नगरपालिकामा एउटा वडाको पनि मत परिणाम आएको छैन ।
इटहरीमा कूल २५ हजार ५ सय ७८ पुरुष र ३१ हजार ८ सय ९८ महिला मतदाता रहेककोमा ७४ प्रतिशत मत खसेको थियो । यो संख्यामा रहेको मत गन्नको लागि अहिलेको गति निकै सुस्त रहेकोले इटहरीको मत ५ वटा समूहमा राखेर गन्ने तयारी भईरहेको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिए । नगरपालिकाको कूल मतदाता संख्या भने ५७ हजार ४ सय ७६ रहेको छ ।
त्यस्तै, धरानको पनि समस्या उस्तै रहेको छ । धरानमा २४ हजार १ सय ५६ पुरुष र २९ हजार ९ सय ५६ महिला गरी कूल ५३ हजार ८ सय १२ मतदाता मध्ये ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ पनि अहिलेसम्म एउटा वडाको पनि मत परिणाम आएको छैन ।
दुबै उपमहानगरपालिकामा दुईदुई वटा समूह बनाएर मत गन्न थालिएकोमा अहिले पाँच पाँच वटा समूहमा मत गन्न निर्देशन दिईएको कर्णले जानकारी दिए ।



