भारतबाट नेपाल आउँदै गरेको को२च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मानव खप्पर बरामद गरेको हो।
सोमबार राति ८ बजे सशस्त्र प्रहरी बल बिओपी रानीबाट खटिएको टोलीले मानव खप्पर र हड्डी बरामद गरेको पकलीस्थित बाहिनीले जनाएको छ।प्रहरीले भ्यानलाई रोकेपछि त्यसका चालक भने भागेको सशस्त्र प्रहरीले जनाएको छ। भ्यानभित्र बोरामा लुकाएर राखेको अवस्थामाचिकित्सक तथा डिभिजन वन कार्यालयको टोलीलाई परीक्षण गराउँदा मानव खप्पर र नली खुट्टाको हड्डी भएको पत्ता लागेको बाहिनीले जनाएको छ।
बरामद भएको खप्पर र हड्डी इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।
पकलीस्थित बाहिनीपति डिआइजी कमल गिरीका अनुसार प्रहरीले रोकेपछि चालकले भ्यान ब्याक गरेका थिए। प्रहरी अगाडि बढेपछि उनी भागेका थिए।
यस्तो वस्तु कहाँ र के प्रयोजनका लागि लैजान लागिएको भन्ने नखुलेको गिरीले बताए। यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।



