काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगरस्थित मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित भएका छन्। विराटनगर महानगरपाालिका मधुमारा घर भएका गुन्डानाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेर ल्याएपछि असुरक्षा बढेको भन्दै कैदीबन्दीहरू आन्दोलित बनेका हुन्।
गिरीलाई मंगलबार बिहान ५ बजे मोरङ कारागार ल्याइएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए। विराटनगर हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीहरूले मंगलबार बिहानैदेखि जेलको छतमा बसेर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। कैदी गिरीलाई ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले १९ असोजमा पनि मोरङ जिल्ला कारागारअगाडि प्रदर्शन गरेका थिए। त्यसपछि कैदी गिरीलाई ल्याउने योजना तत्कालका लागि स्थगित गरिएको थियो।

गिरीलाई ल्याउनकै लागि मोरङ कारागारका चौकीदार नवीन राईलाई बल प्रयोग गरेर सुनसरीस्थित झुम्का कारागार सरुवा गरिएको थियो। मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले पहिले काठमाडौंबाट अभिषेक गिरीसहित चारजना कैदीलाई मोरङ सरुवा गर्ने सर्कुलर विभागले पठाएको बताए।

व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय गरेको थियो। अदालतको फैसलापछि डिल्लीबजार कारागारमा रहेका कैदी गिरी कांग्रेस नेतृत्वको सरकार आएसँगै पहुँच प्रयोग गरेका थिए। उनलाई घरपायक सरुवा गराउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएको स्रोतको भनाइ छ। नेपाली कांग्रेससमर्थक गिरी विराटनगरमा गुन्डागर्दीका लागि चर्चित थिए।

अभिषेक गिरीको क्राइम डायरी
विराटनगरमा बसेर ठेक्कापट्टाको टेन्डर र अन्य गुन्डागर्दीमा कुख्यात थिए अभिषेक गिरी। उनी पटक–पटक गुन्डागर्दी आरोपमा पक्राउ परेर छाडिन्थे। गिरीलाई खासगरी निर्माण व्यवसाय र टेन्डर हत्याउन चाहने व्यापारीहरूले गुन्डागर्दीमा प्रयोग गर्ने गर्थे। सुरुमा अरूको प्रयोगमा आएका गिरीले पछि आफैँ टेन्डर हत्याउने र व्यवासायी, व्यापारी र उद्याेगीहरूलाई धम्क्याउने, अपहरण गर्ने गरेका थिए।

गुन्डागर्दीमा उनको आफ्नै समूह थियो। प्रायः कांग्रेसनिकट भएकाहरूले उनलाई प्रयोग गर्ने गरेका थिए। नेकपा एमालेनिकट पर्शुराम बस्नेत समूहसँग उनको शत्रुता थियो। १७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको १० करोडबराबरको टेन्डर काण्डमा विराटनगर महानगरपालिका– १२ जतुवाका युवा करण यादवको हत्या भएको थियो। हत्याको आरोप विराटनगर– १० मधुमाराका अभिषेक गिरीमाथि लागेको थियो। फरार रहेका गिरी पछि आफैँ अदालतमा हाजिर भएका थिए। उनी २१ साउन ०६६ देखि पुर्पक्षका लागि जेल गएका थिए। गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक हमला गर्दा उनी गम्भीर घाइते भएका थिए। आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो। कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दाआतंक चलाएर फिरौती असुल्ने गरेको आरोप पनि लागेको थियो।

अदालत परिसरमा आफूमाथि आक्रमण गराएको आरोपमा गिरी र उनकी श्रीमती अमिषा गिरीले पर्शुराम समूहका २३ जनाभन्दा बढीलाई ज्यान मार्ने उद्याेगअन्तर्गत मुद्दा दायर गरेका थिए। व्यक्तिहत्या आरोपमा जेल परेका गिरी एक वर्षपछि मोरङ अदालतबाट उक्त हत्या आरोपमा सफाइ पाएपछि छाडिएका थिए। जेलबाट छाडिएपछि उनी सानमानका साथ कांग्रेसमा प्रवेश गरेका थिए। त्यसपछि केही महिना शान्त बसेका उनी संविधानसभाको दोस्रो निर्वाचन ०७० पछि पुन: आफ्नो पुरानै धन्दामा फर्किएका थिए।

उनले उद्योगी, व्यापारी र ठेकेदारहरूलाई धम्क्याएर चन्दा र फिरौती उठाउन थालेको भन्दै प्रहरीले खोजी व्यापक बनाएको थियो। फरार रहेका गिरी पछि काठमाडौंबाट व्यक्ति अपहरण र फिरौती आरोपमा पक्राउ परेका थिए। गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत कालो धन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो। तत्काल उनी धरौटी बुझाएर छाडिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय