विराटनगर — कोभिड विरुद्धको भेरोसेल खोपका लागि सिरिन्ज अभावले प्रदेश १ मा खोप कार्यक्रम प्रभावित भएको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिन्ज अभावमा खोप कार्यक्रम प्रभावित छ ।
‘१० हजार वटा मात्र सिरिन्ज छ’, केन्द्र प्रमुख चन्द्रकान्त ठाकुरले भने ‘२–४ दिन सम्ममा सिरिन्ज नआए भेरोसेल खोप कार्यक्रम नै रोकिने स्थिती आउँछ ।’ मोरङ, सुनसरी र झापाबाहेक प्रदेशका अन्य ११ जिल्लामा मोडर्ना खोप चलिरहेकाले ती जिल्लामा मोडर्नाकै सिरिन्ज पर्याप्त भएकाले समस्या छैन ।
प्रदेश १ मा पुस पहिलो सातासम्मा कोभिड १९ विरुद्धको खोप ३२ लाख बढीले लगाएका छन् । पहिलो डोज खोप १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् । यस्तै दुवै डोज खोप १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएको जिल्ला स्वास्थ्य सूचना प्रणालीमा उल्लेख छ ।
कोभिशिल्ड पहिलो डोज ३ लाख ५० हजार ४ सय ८५ जना र दोस्रो डोज खोप २ लाख ७३ हजार ९ सय ५ जनाले लगाएका छन् । भेरोसेल पहिलो डोज १० लाख ७६ हजार २ सय ८१ जनाले लगाएका छन् ।
भेरोसेल दोस्रो डोज खोप ७ लाख ५२ हजार ७ सय ७७ जनाले लगाएका छन् । यस्तै जोनसन एण्ड जोनसन २ लाख ४५ हजार ४ सय ६५ जनाले लगाएका छन् । अस्ट्राजेनेका पहिलो डोज २ लाख ९६ हजार ३ सय ८४ जनाले र दोस्रो डोज खोप २ लाख १२ हजार ७ सय ९२ जनाले लगाएका छन् । फाइजर पहिलो डोज ५ हजार ९ सय ६९ र दोस्रो डोज ३ हजार ८ सय १६ जनाले लगाएको स्वास्थ्य सूचना प्रणालीमा उल्लेख छ ।
बालबालिकालाई खोप लगाइँदै
प्रदेश १ का सुनसरी, मोरङ र झापाबाहेकका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप बिहीबारबाट लगाउन सुरु गरिँदै छ ।
प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले १२ देखि १७ जिल्लाका बालबालिकाका लागि ११ वटै जिल्लामा मोडर्ना खोप पुगिसकेकोले बिहीबारदेखि संखुवासभाबाट खोप लगाउन सुरु गर्ने बताए । उनले ११ वटा जिल्लामा २ लाख ३४ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंका अनुसार सुनसरी, मोरङ र झापामा अबको महिना दिनपछि खोप लगाउने तयारी गरेको बताए ।



