
कात्तिक १२, २०७३ – चिरञ्जिवी घिमिरे -झापा : दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी समयमै कार्यालयमा उपस्थित नभएपछि बिरामीहरुले सास्ती व्यहोर्नुपरेको छ। दमकमा महामारीको रुपमा फैलिएको डेंगु रोगका कारण अस्पतालमा संक्रमितहरुको भिड बढेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले डेंगु संक्रमितहरुको उपचारका लागि दमक अस्पताललाई जिम्मेवारी तोकेको छ। तर, स्वास्थ्यकर्मीहरुलाई कार्यालयमा भेट्नै मुस्किल परेको बिरामीहरु बताउँछन्।
– जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगुको उपचारका लागि दमक अस्पतालमा २४ घण्टा उपचार हुने बताएको छ। महामारीका कारण बिरामीको संख्या बढेपछि कर्मचारीहरुलाई २४ घण्टा सतर्क रहन जनस्वास्थय कार्यालयले निर्देशन दिएको छ। तर, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डाक्टर बुद्धि बहादुर थापासहितका अधिकांश कर्मचारी कार्यालय समयभन्दा ढिलामात्रै अस्पताल आउँछन्। नियमित कार्यालय समय १० बजे भएपनि कर्मचारीहरु ११ बजेमात्रै अस्पताल आइपुग्छन्।
– नियमित स्वास्थ्य जाँचका लागि अस्पताल धाइरहेका ६५ वर्षका श्रीप्रसाद निरौलाले भन्छन्,’ म हप्तामा एक पटक यहाँ आउँछु होईन भने यो कागज हेर्नुहोस्। अरु अस्पतालमा छिटो उपचार हुन्छ। तर, पैसा कम छ के गर्नु यहाँ नै आउनुपर्छ।’ उनले भने,’सधै डाक्टर सावहरु ११ बजेमात्रै आउनुहुन्छ। आज पनि बिहान ८ बजेबाट लाईन बसको डाक्टरहरु नै आउनुभएन।’
– मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धि बहादुर थापाको हाजिरी खातामा नियम विपरित टिपेक्स लगाएर हाजिर सञ्चाइएको छ। – १० बजेर ३४ मिनेटमा अस्पतालका २ जना विशेषज्ञ डाक्टर शिशिर झा र रेवन्त थापा आईपुगे। त्यसपछि, उनीहरुले हतारहतार बिरामी जाँच्न शूरु गरे। १० बजेर ४४ मिनेट जाँदा अस्पतालकी मातृशिशु कायकर्ता उर्मीला कार्की आईन् । किन ढिला आउनुभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्,’तपाईहरुले आउछौँ भनेर भन्नुभएको थिएन। त्यसैले ढिला आएको हो। फेरी छिट्टै आउन त खोजेको हो तर शौचालय जाँदा ढिला भयो।’ उनी अब कार्यकक्षमा लागिन्।
– १० बजेर ५१ मिनेटमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धि बहादुर थापा आइपुगे। उनले अस्पतालका कमी- कमजोरीलाई क्रमश: सुधार्दै जाने बताए । उनले अस्पतालमा अझै १३ जना कर्मचारी आवश्यक रहेको बताए। कर्मचारी अभावमा काम गर्न नसकेको उनको गुमानो छ।
– ११ बजेसम्म दमक अस्पतालको ल्यावमा कर्मचारी थिएनन् । ल्यावमा दुईजना कर्मचारी रहेछन्। तर शुक्रबार ल्याब असिस्टेन राकेश सिंह ठकुरी अस्पताललाई जानकारी नै नदिइ विदा बसेका रहेछन्।
– स्थानीयहरु कर्मचारीकै लापरवाहीका कारण यस अस्पतालले उपस्वास्थ्य चौकीको जति पनि सेवा दिन नसकेको बताउँछन्। ४ महिना अघि मात्र यो अस्पताललाई उपस्वास्थ्य चौकीबाट अस्पताल बनाईएको थियो।



