प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास हटाउनुपर्ने बताएका छन् ।
सोमवार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले बिराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास अनावश्यक रहेको भन्दै हटाउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए ।
पत्रकारसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका दिएका विवादस्पद अभिव्यक्तिबारे छलफल गर्नेपनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेको प्रचण्डले प्रधानमन्त्री देउवाले भारत भ्रमणमा क्रममा गरेको सम्झौता र दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाए ।
कोशी उच्च बाँधमा समझदारी गरेको विषयमा प्रचण्डले असन्तुष्टि जनाएका हुन् । साथै संविधान संशोधनको विषयलाई प्रधानमन्त्री अनावश्यक रुपमा उठाएको प्रचण्डको आशय थियो ।
‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन,’ सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले भने, ‘काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछौं ।’
निर्वाचनको विषयमा सोधिएको प्रश्नको जवाफमा प्रचण्डले आफ्नो पार्टी पूर्णरुपमा निर्वाचनको तयारीमा होमिएको बताए । अहिलेको मिसन निर्वाचन भएकाले माओवादी निर्वाचन मै रहेको बताउँदै उनले सत्ता परिवर्तनमा कुनै ध्यान ननिदे दावी गरे ।
अध्यक्ष प्रचण्डले यो वर्ष चुनावमय हुने बताए । साथै प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि समयमै सम्पन्न हुने उनले बताए ।



