सिद्धार्थ बैंकको खाताबाट २४ लाख रुपैयाँ हराएको छ । धरानका तेजस्वी अटो अतुल टेम्पुको सव डिलरका सम्राट श्रेष्ठले धरानकै सिद्धार्थ बैंकको खाताबाट बिहीबार जनकपुरको बाबा सेल्स सप्लायर्सको खातामा २४ लाख रुपैयाँ जम्मा गरेका थिए ।
बाबा सप्लायर्सको जनकपुरको खाता नम्बर ०२०१०३९००४ मा हिजो बिहीबार धरानबाट २४ लाख रुपैयाँ जम्मा गरिएको थियो ।सप्लायर्सका प्रोप्राइटर विष्णुदेव शाहका अनुसार त्यति बेला जनकपुर सिद्धार्थ बैंक शाखाका म्यानेजर अखलेश यादवलाई फोन गरेर सोध्दा उहाँले खातामा रकम जम्मा भइसकेको बताउनु भएको थियो । तर शुक्रबार खाताबाट रकम झिक्न जाँदा खातामा पैसा नभएको शाहले गुनासो गर्नु भयो ।
उहाँले बैंकले गम्भीर लापरबाही गर्ने गरेको बताउँदै जुन सुकै हालतमा आफ्नो रकम पाउनु पर्ने र म्यानेजरलाई कारबाही हुनु पर्ने माग गर्नुभयो । खाताबाट रकम गायब भएपछि जनकपुरको मिल्स एरियामा रहेको सिद्धार्थ बैंक शाखामा शाहका आफन्तहरुले घेराबन्दी गरेका छन् । उनीहरुले बैंक शाखाका म्यानेजर यादवलाई कार्यकक्षमै घेराबन्दी गर्दै रकम के कति कारणले कहाँ गायब भयो त्यसको जिम्मेबारी लिनु पर्ने बताएका छन् ।बैंकका शाखा म्यानेजर अखलेश यादवले बिहीबार खातामा रकम जम्मा भएको तर शुक्रबार खातामा रकम नदेखिएपछि बैंकको हेडअफिसमा कम्प्लेन गरी खोजविन गरिरहेको बताउनुभयो । उहाँले यस्तो घटना कहिल्यै पनि नभएकोसमेत बताएका छन।



