
भद्रपुर, २० कार्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका लागि झापा १ का उम्मेद्वार विश्वप्रकाश शर्माले स्वाधीन नेपाल निर्माणका लागि राजनीतिक शुद्धता आवश्यक रहेको बताएका छन् ।
झापाको चन्द्रगढीमा सम्पन्न बौद्धिक वर्गसितको अन्र्तक्रियात्मक कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै शर्माले नेपालको सम्बृद्धिसित स्वाधीनता जोडिएकोले राजनीति सुधारको आवश्यकता रहेको बताएका हुन् ।
विपक्षका राम्रा कुरा नस्वीकार्ने र निषेधको राजनीति गर्ने परम्पराले नेपाली राजनीति पराधिनको बाटोमा लागेकोले त्यसलाई सुधारेर स्वाधीन नेपाल निर्मार्ण गर्न युवा शक्ति आवश्यक परेको भन्दै शर्माले राम्रो राजनीति र छिटो सम्बृद्धि आजको आवश्यकता औंल्याए ।
उनले काँग्रेसले केही गरेन भनेर गाली गर्नेहरुले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालका खाका कसको पालामा कोरिएको हो ? सोच्न आग्रह गरे । शर्माले झापाको सदरमुकाम भएर पनि पछाडि छोडिएको जस्तो स्वरुपको चन्द्रगढीको स्वरुप परिर्वन गर्न वौद्धिक वर्गसित खाका समेत माग गरेका छन् । उनले चन्द्रगढीबाट सुरु हुने सम्बृद्धिको यात्रा वाहुण्डाँगीमा पुग्दा झापा क्षत्रे नम्वर १ को सम्पूर्ण भूगोल सवल नेपालको नमूना वन्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा क्षेत्र नम्वर १ ख का उम्मेद्वार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृति अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राखे । पोखरेलले १ नम्वर प्रदेशको प्रतिनिधित्व गर्ने अवसर जनताले प्रदान गरे निष्ठाको राजनीति मार्फत देश र जनताको सेवामा इमान्दार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।



