
मोरङको क्षेत्र नं. ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पंण्डितका केहि रहस्यहरु नयाँ पत्रिकाले उजागर गरेको छ । पंण्डित भन्छन्
हावाबाट बिजुली निकाल्ने यन्त्र बनाएँ
०३४ मा थापाथली क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह पास गरेँ । त्यसपछि बालाजु औद्योगिक क्षेत्रमा काम गरेँ । त्यहाँ एउटा स्विस प्रोजेक्ट थियो । त्यही वेला मैले हावाबाट बिजुली निकाल्ने मेसिन बनाएँ । सम्भवतः नेपालमा हावाबाट बिजुली निकाल्ने मेसिन बनाउने म नै पहिलो हुँ । त्यो मेसिन परीक्षण पनि गरियो । मुस्ताङमा जडान गरेर परीक्षण गरिएको थियो र सफल पनि भएको हो । त्यो वेला नेपालमा हाइड्रो टर्वाइन बन्थ्यो, जुन विदेश निर्यात हुन्थ्यो ।
पैसा खर्चेर चुनाव जित्ने दिन गए
म पैसा नभएको मान्छे हुँ । तर, पैसा खर्च गरेर चुनाव लड्ने उद्देश्य भएका धेरै छन् जस्तो लाग्छ । मलाई स्मरण छ, ०४८ को चुनावमा राप्रपाका हरेन्द्रबहादुर थापाले अमेरिकामा बसेका छोराछोरीले पठाएको तीन करोड रुपैयाँ खर्चिनुभयो । उहाँले चुनावका वेला मतपेटिका समातेर भन्नुभएको थियो– मेरो दुई करोड यसैमा छ । तर, मतपरिणाम सार्वजनिक हुँदा उहाँ चौथो स्थानमा पनि पर्नुभएन । जनता अहिले झन् सचेत छन् । पैसाका बोरा बोक्नेहरू परास्त हुन्छन् । राम्रो उम्मेदवारलाई जनताले घर–घरबाट आर्थिक सहयोग गरिरहेका छन् ।



