
प्रदेश नम्बर ४ को प्रदेश सभाका लागि मनाङबाट स्वतन्त्र उम्मेदवार बनेका छन् दीपक मनाङे। सुरुमा पार्टीको जिल्ला कमिटीबाट प्रदेश सभाको निर्वाचनमा सर्वसम्मत सिफारिसमा परेका उनलाई आपराधिक गतिविधिसँग जोडिएका कारण टिकट दिन एमाले हच्कियो। तर उनले स्वतन्त्र उम्मेदवारी दिए।
उनलाई समर्थन गर्दै एमालेले आफ्ना आधिकारिक उम्मेदवारलाई नाम फिर्ता लिन लगायो। यतिखेर मनाङको प्रदेश (क) मा आफ्नो चुनाव चिह्न ‘बालक’को प्रचारमा सक्रिय दीपक मनाङे भन्छन्-
स्वास्थ्यले साथ दिए तीन पटक लड्छु होला। मेरो पोलिटिक्स गर्ने नेचर छैन। म मान्छेलाई राम्रो गर्नसक्छु तर नमस्कार गर्दै हिँड्न सक्दिनँ। यो नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो। दिनमा ५० जनालाई नमस्कार गर्नुपर्छ। म त्यसका लागि जन्मिएको होइन। हामी जमिनदार हौं यहाँको। मुखियाको हिसाबले चलाएको हो। नमस्कार न मेरो बाजेले गर्यो, न बाबुले। मलाई नि गाह्रो भएको छ। तर सिनियर दाइले नै नमस्कार गरिररहेको हुन्छ, त्यसैले गर्नु पर्यो।
………………………………………………………………………………………………………….
‘डन’। नेपालमा खासमा डन भनेको शब्द पनि थाहा छैन। नेपाल खासमा ठूलो डन प्रधानमन्त्री र गृहमन्त्री हुन्। यिनीहरुको अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ। डनले कहिले पनि टोलमा बसेर व्यापार गर्दैन। डनले त विदेशमा बसेर स्वदेशमा व्यापार गर्छ। म काठमाडौंमा बस्छु। मेरो घर छ, व्यापार छ। मेरो अफिस छ, म डन हुन्छु? संसारमा कुनै डन देखेको छ यसरी चुनाव लड्दै हिँडेको? तर नेपालको खत्रा डन प्रधानमन्त्री र गृहमन्त्री हुन्।



