एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान–टु– वान भेटवार्ता सकिएको छ । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा शुक्रवार भएको तीन घण्टा लामो भेटवार्ता राष्ट्रियसभा गठन, प्रदेश सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल भएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु भएका ओली बिहीवार फर्केपछि राजनीतिक भेटवार्तामा लाग्नुभएको हो । एमाले नेता सुवास नेम्वाङ संयोजक रहेको कार्यदलले राष्ट्रियसभामा संयुक्त उम्मेदवारी प्रदेशस सरकार मुख्य पद बाँडफाँडमा भएको प्रतिवेदनका विषयमा दुई अध्यक्षबीच छलफल भएको वताइएको छ ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुई अध्यक्षबीचको वार्तामा नेम्वाङ कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमति भएको छ । दुई वाम पार्टीबीच राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने सहमति भइसकेको छ । जस अनुसार एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिंदैछन् । त्यस्तै, ७ वटा प्रदेशमध्ये ६ प्रदेशमा बहुमत पाएको वाम गठबन्धनले त्यहाँका मुख्यमन्त्री र प्रदेशसभा प्रमुख लगायतका पदसमेत निर्वाचनमा प्राप्त मत र योग्यता÷क्षमताका आधारमा बाँडफाँड गर्ने सहमति गरेका छन् ।
त्यसैगरि, पार्टी एकताबारेमा दुई अध्यक्षबीच फेरि एकल वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठकले त्यसलाई अघि बढाउनेवारेमा छलफल भएको छ । त्यस अनुसार, भोलि शनिवार पुन दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता हुने र त्यसपछि आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।
त्यसबाहेक प्रदेशका अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको बारेमा समेत उहाँहरुबीच छलफल भएको छ । अहिले अस्थायी केन्द्रमात्र तोकिएको र प्रदेशसभाले स्थायी केन्द्रको निर्णय लिने भएकाले उक्त मुद्दालाई प्रदेशसभाले टुग्याउनुपर्ने बारेमा दुई नेताबीच समझदारी भएको छ । त्यसैगरी प्रदेश प्रमुखको सन्दर्भमा भने उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताइएको छ ।
छलफलबारे ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रेस नोट बनाएर पठाएकाछन् । यस्तो छ प्रेस नोट
प्रेस नोट
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज मिति २०७४ माघ ५ गते ओली निवास बालकोटमा दिउसो १ देखि ४ बजेसम्म विभिन्न विषयमा छलफल भएको छ । पहिलो,कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ । दोस्रो, प्रदेश सरकार गठनका बिषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । तेस्रो, पार्टी एकताका बिषयमा छलफल भएको छ । यसलाई अन्तिम रुप दिनका लागि भोलि मिति २०७४ माघ ६ गते पुन अध्यक्ष ज्यूहरु बीच थप गृहकार्य गर्ने गरी छलफल गर्ने र पर्सी मिति २०७४ माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ ।
मिति ः ५ माघ २०७४
चेतन अधिकारी
प्रेस संयोजक
केपी शर्मा ओलीको सचिवालय



