काठमाडौं -बाराको कलैयाबाट निजगढतर्फ जाने क्रममा शनिवार साँझ बा१झ १६३३ नम्बरको गाडी ट्याक्टरसँग ठोक्किँदा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भयो ।
एसपी पोखरेलसँगै सोही गाडीमा सवार बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई घाइते भए । हाल उनी काठमाडौंमा उपचाररत छन् ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति पोखरेलको मृत्युपछि सामाजिक सञ्जाल फेसबूकमार्फत् धेरैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । श्रद्धाञ्जलीसँगै उनले करीब ५ महिना अगाडि फेसबूकमै राखेको स्टाटस पनि भाइरल भइरहेको छ, जसमा उनले लेखेका छन्- ‘अब के चाहियो भनेर चित्रगुप्तले सोधेछन् भने भन्ने मन छ, हजुर! अब स्वर्गको बास चाहियो ।’
गत सेप्टेम्बर ४ तारिखका दिन उनले फेसबूकमा राखेको उक्त स्टाटस फ्रेन्ड लिस्टमा रहेकाहरूले मात्र हेर्न सक्छन् ।
यस्तो छ उनको स्टाटस :
सन्तोष गर्ने ठाउँ छ हजुर सबैचिज पाइयो !
कुमाल गाउँबाट उदाएर काठमाडौंसम्म आइयो !!
महाराजगञ्जमा दौडधूप गर्दै असईमा जागिर खाइयो !!!
एक वर्ष तालिमपछि काँधमा फूली लाइयो !!
२७ वर्षे जागिरे जीवन हाँसीखुसी बिताउँदै एसपी पनि भइयो !!!
संगठनले पत्याएरै होला गोरखा दक्षिणबाहु हुँदै जनसेवाश्री पनि पाइयो !!!!
सानो गाउँदेखि शुरू गरेको यात्रा युरोप, यूएस हुँदै अफ्रिकासम्म पनि छाइयो !!!!
अब त अन्तिम इच्छा के छ भनेर चित्रगुप्तले सोधेछन् भने भन्ने मन छ, हजुर! अब स्वर्गको बास चाहियो !!!!




