काठमाडौं– कडा हृदयाघात भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा केही सुधार आएको छ। यद्यपि, उनको अवस्था खतरामुक्त भने भइनसकेको नर्भिक अस्पतालले जनाएको छ।

छातीमा असह्य पीडा भएपछि उनलाई नर्भिक लगिएको थियो। उनलाई अस्पतालको आकस्मिक कक्षमा दिउसो ४ बजेर १५ मिनेटमा भर्ना गरिएको थियो। जाँचका क्रममा उनलाई कडा हृदयाघात भएको पाइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगत्तै अस्पतालका मुटु रोग विशेषज्ञ डा यादव देव भट्टको टिमले उनको शल्यक्रिया गरेको थियो।

‘क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो,’ डा भट्टले भने, ‘उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सीसीयुमा सारिएको छ।’

परसको उपचारमा डा भट्टसहित डा जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो।

उनलाई आइतबारदेखि नै छाती दुख्ने समस्या देखिएको थियो।

पारसलाई हृदयाघात भएको यो तेस्रो पटक हो। यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो।