दमक । मेरो पेट दुख्छ, घुडा पनि दुख्छ, हिडडुल गर्न नै नसक्ने भइसके नानी निको पारिदिनु पर्यो, ९३ बर्षिय भद्रशीला दाहालले भन्नुभयो । त्यसपछि डा. शुशान्त कट्वालले जाँच गर्नु भयो र लेखि दिएको औषधि खाएपछि निको हुने बताएपछि उहाँ खुसि हुनु भयो । उहाँलाइ निशुल्क औषधि उपलब्ध गराईएको थियो ।
शुक्रबार दमक नगरपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा आउनु भएकी जेष्ठ नागरिक दाहालले स्वास्थ्य शिविरबाट लाभ लिनु भएको छ । उहाँ आफ्नी कान्छि छोरी राधा कार्की र जेठी बुहारी झुना दाहालको साथ लागेर स्वास्थ्य शिविर स्थल दमकको रेडक्रस भवनमा आउनु भएको थियो ।
वडा कार्यालयले पहिलो पटक निशुल्क रुपमा औषधि, एक्स रे, भिडियो एक्स रे सुविधा सहितको दुइदिने स्वास्थ्य शिविरको आयोजना गरेकोे थियो । वडाध्यक्ष भीम पौड्यालले करिब ७ सय विरामीहरुलाइ लक्षित गरेर विशेषज्ञ स्वास्थ्य शिविर गरिएको बताउनु भयो । स्वास्थ्य शिविरमा धेरैजसो जेष्ठ नागरिकहरु नै सहभागि भएको पनि उहाँले वताउनु भयो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख रोमनाथ ओलीले नगरपालिकाले स्वास्थ्य कार्यक्रम तथा अभियानलाइ प्राथमिकतामा राखेर काम गरेको जनाउदै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाइ सरल र सकेसम्म घरमा नै पुगेर गर्ने ब्यवस्था मिलाउनका लागि काम भइरहेको वताउनु भयो ।
स्वास्थ्य शिविरमा मेची आँखा अस्पताल, लाइफलाइन अस्पताल र दमक अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएकाथिए । वालरोग विशेषज्ञ, फिजिसियन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, दाँत रोग विशेषज्ञ लगायतको सुविधा स्वास्थ्य शिविरमा रहेको वडा सदस्य श्याम कार्कीले बताउनु भयो ।



