काठमाडौं, २९ माघ । काठमाडौंको कमलादीमा सिसा टावर बन्ने भएको छ । १०० मिटर अग्लो टावर २५ तल्ले हुने छ । वन्डर्स नेपाल प्रा.लि.ले बनाउन लागेको सिसा टावरलाई उपत्यका विकास प्राधिकरणले स्वीकृति दिइसकेको छ ।
तीन वर्षभित्र बन्ने टावर दक्षिण एसियामै पहिलो हुने वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले बताएका छन् । टावर निर्माण गर्न कम्पनीले ठेकेदार कम्पनी खोजी गरेको छ ।
सय मिटर अग्लो टावरमा एकैपटक पाँच सयले छतबाट उपत्यका अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । टावर निर्माणका लागि कम्पनीले सरकारसँग कमलादीको १३.२ रोपनी २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ । टावरमा पोखरेललगायत विभिन्न देशमा रहेका नेपालीहरुको लगानी रहनेछ ।
पोखरेलका अनुसार टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर गु्रप नेपाल परामर्श साझेदार छन् । टावरको माथिल्लो भागमा तीन मिटर बाक्लो सिसा हुनेछ । सिसाको टावरमा पार्किङ, हेल्थ क्लब, रेस्टुरेन्ट, स्विमिङ पुल, एयर रेस्टुरेन्ट, पसल सञ्चालन हुनेछ ।



