काठमाडौं । सरकार बनेको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार ढल्ने सम्भावना नभएको बताएका छन् ।
ओलीको भनाइ छ- ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको छ होला, तर यो सरकारले हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउने छ ।’
सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै यो सरकार बिदा हुने ओलीले बताए ।
नेपाल प्रहरीको तालिम केन्द्र महाराजगन्जमा आयोजित एकसय ७८औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी अब पूरानो परिस्थिथिमा बसिरहन सक्दैन भने । उनले नेपाल प्रहरीलाई व्यावसायिक, सबल र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाइने बताए ।
चाकडी नगर्न र चाकडीको पछाडि नलाग्न आग्रह गर्दै ओलीले भने- ‘नेपाल सरकार कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’ उनले भने( ‘प्रहरी भनेको दलाली वा दमन गर्न होइन, कर्तव्य पालनाका लागि हो ।’
प्रहरीमा कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली अपनाउन आवश्यक रहेको भन्दै ओलीले सरुवा बढुवामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको बताए ।
कार्यक्रममा प्रहरी निरीक्षकको आधारभूत तालिम सकेका १२ जना महिला र ८३ जना पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।



