चे इंगल्स /बीबीसी

फिलिपिन्स एशियाको ती देशमध्येको एक हो जहाँको जनसंख्या निकै तीब्र गतिमा बढिरहेको छ । बढ्दो जनसंख्याका लागि घरको आवश्यकता हुन्छ र अहिले त्यहाँ ५० लाख घरको कमी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक अनुमानका अनुसार फिलिपिन्सलाई सन् २०३० सम्म एक करोड ३० लाख नयाँ घरको आवश्यकता हुनेछ ।

यसको अर्थ यो भयो कि यदि फिलिपिन्स सबैका लागि घरको सपना साकार पार्न चाहन्छ भने उसले हरेक वर्ष १० लाख नयाँ घर बनाउनुपर्नेछ । यो काम सन् २०१९ बाट नै सुरु गर्नुपर्नेछ ।

फिलिपिन्सका लागि यति धेरै घर बनाउनु सबैभन्दा ठूलो चुनौती छ । यसका लागि अत्यधिक स्रोत साधनको आवश्यकता पर्नेछ, जसलाई जुटाउन सजिलो छैन ।

यसरी हल हुनेछ समस्याः

फिलिपिन्सको यो बढ्दो समस्यालाई बाँसको रुखले सुल्झाउन सक्छ । यो देशमा बाँस अत्यधिक पाइन्छ । यसले टिकाउ निर्माण सामग्री तयार पार्न सकिन्छ ।

अर्ल फोर्लेल्स फिलिपिन्सको क्वेजोन सिटिमा बस्ने युवा इन्जिनियर र व्यवसायी हुन् । उनी भन्छन्, ‘आवासको कमी तीब्र रुपमा बढिरहेको समस्या हो र यसको तुरुन्त समाधानको आवश्यकता छ ।’

फोर्लेल्सले फिलिपिन्सको पारम्परिक बाँसको घर (बहाय कूबो) लाई परिष्कृत बनाउने योजना बनाएका छन् ।

उनी थप्छन्, ‘बाँसको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । यदि तपाईं यसलाई राम्रोसँग प्रशोधन गरे यसको उमेर पचास वर्षसम्म हुनसक्छ ।

फिलिपिन्समा बाँस तीन वर्षमा तयार हुन्छन् । उनी भन्छन्, ‘हाम्रो लागि राम्रो कुरा यो हो कि यहाँ बासको आपूर्तीमा कुनै कमी छैन ।’

फोर्लेल्स ‘क्यूबो मोड्युलर’ नामको कम्पनीका कार्यकारी अधिकारी हुन् । उनको कम्पनी बाँसको ‘कम्प्याक्ट’ घर बनाउने योजनामा काम गरिरहेको छ ।

यो कम्पनीले बाँसलाई प्रशोधन गर्छन । बाँसलाई चौडा प्लाइवुडको आकार दिन्छ । बाँसका पत्र जोडेर चाकोस् र खम्बा पनि बनाइन्छ ।

बाँसबाट तयार यी निर्माण सामग्रीबाट ‘प्रि–फेब्रिकेटेड’ घर बनाउन सकिन्छ ।

घरका लगभग सबै भाग बिल्डिङ साइटभन्दा टाढा कारखानामा तयार गरिन्छ जसमा हप्ता दिनको समय लाग्छ ।

फोर्लेल्सको कम्पनीले घरका ती पार्टपूर्जा साइटमा लगेर चार घण्टामा जोड्ने गर्छ । यसरी लामो प्रतिक्षा नगरी र कम खर्चमा एउटा घर तयार हुन्छ ।

सानो र आरामदायी घरः

फोर्लेल्स भन्छन्, ‘यो हाम्रो पारम्परिक बहाय कूबो (बाँसको घर) जस्तै हो ।’

कूबोको अवधारणा निकै कम्प्याक्ट हुन्छ तर यसमा आवश्यक सबै वस्तु हुन्छन् जसलाई फिलिपिन्सका जनताले आफ्नो घरमा राख्छन् ।

फोर्लेल्सले बनाएका सानो घरमा पनि सोफा, सेन्ट्रल टेबल, बेड, टिभी, फ्रिजजस्ता आवश्यक ती सबै वस्तु हुन्छन् । यहाँसम्म कि छतसम्म जान सिँढी पनि बनाइएका हुन्छन् ।

फोर्लेल्सका अनुसार उनलाई वाल्यकालदेखि नै बाँसलाई ठोक्ने–पिट्ने, त्यसको मर्मता गर्न मजा आउँथ्यो ।

उनी आफ्नी आमालाई खेलौना खरिद गरिदिन जिद्दी गर्दथे । खेलौना पाएपछि उनी त्यसलाई खोलेर त्यसलाई कसरी बनाइएको थियो त्यो हेर्दथे र त्यसलाई पछि पुनः जोड्दथे ।

केही नयाँ गर्ने सोचः

समय र उमेरसँगै फोर्लेल्सको बानी परिवर्तन भएन ।

उनी भन्छन्, ‘कलेजमा मैले मटेरियल साइन्स र इन्जिनियरिङको पढाई गरेको थिएँ । आखिर वस्तुहरु काम कसरी गर्छन् र कसरी त्यसमा सानो परिवर्तन ल्याएर आफ्नो जीवन थप सहज बनाउन सकिन्छ भन्ने कुरामा म निकै उत्सुक थिएँ ।

प्रश्न यो उठ्छ कि के उनीहरुसँग फिलिपिन्सको आवास समस्याको समाधान छ ? र के यो योजनालाई संसारका अन्य भागमा पनि प्रयोग गर्न सकिन्छ ?

फोर्लेल्स एशियामा मात्र नभई ल्याटिन अमेरिका र अफ्रिकी देशमा पनि बाँसको घर बनाउन चाहन्छन् ।

उनी भन्छन्, ‘हामीलाई लाग्छ कि यो उपाय त्यहाँ पनि लागू गर्न सकिन्छ र लाखौं मानिसहरुको घरको आवश्यकता पूरा गर्न सकिन्छ ।’

युवा जोशः

फोर्लेल्सको कम्पनीमा काम गर्ने सबैजना २० देखि ३० वर्षका युवा हुन् ।

उनी भन्छन्, ‘हामीमा अनुभवको जुन कमी छ त्यसलाई हामी ऊर्जा र प्यासनबाट पूरा गर्छौं ।’

फोर्लेल्स भन्छन्, ‘यदि म आफ्नो १६ वर्षको उमेरमा फिर्ता भएर आफूलाई कुनै सल्लाह दिनुपर्यो भने म यही भन्न चाहन्छु कि कोसिस गर्न कहिले पनि डराउनु हुँदैन । विशेषगरी जब तपाईंको लक्ष्य मानिसहरुलाई सहयोग गर्नु हो भने ।’

उनी थप्छन्, ‘तपाईं त्यसको असर छोड्न सफल हुनुहुनेछ । तपाईं त्यो उद्देश्यको मार्गमा हुनुहुनेछ जसलाई तपाईं प्राप्त गर्न चाहनुहुन्छ । ’