विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो ५२ वर्षीया सावित्री खतिवडाको शव भेटिएको छ।

झापा धुलाबारी पुरानो घर भएकी सावित्री केही समयदेखि परिवारका सदस्यसँगै काठमाडौं तर्केश्वर-१० मा बस्दै आएकी थिइन्। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढिस्को लडेर बनेको खाल्डोमा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। शव भेटिएको स्थान वरपर किटनासक विषादीको गन्ध आएका कारण घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको उनले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जंगलमा घाँस दाउरा काट्न गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

‘बाहिरबाट हेर्दा शरीरका कुनै पनि अंगमा चोट देखिंदैन,’ प्रनि बजगाईले भने, ‘महिला पूर्व आउनु पर्ने कुनै कारण खुलिसकेको छैन।’ काठमाडौंस्थित घरबाट बिहीबार साँझ पख कुर्तसलवार बिग्रिएको र बनाउन जान्छु भनेर उनी निस्किएको परिवारका सदस्यले प्रहरीलाई जानकारी दिएका छन्। दुई सन्तानकी आमा उनी घर नफर्किएपछि परिवारका सदस्यले पनि खोजी सुरु गरेका थिए।

उनको शव एक्कासी मोरङको पथरीशनिश्चरेमा भेटिएपछि परिवारका सदस्य पनि अचम्ममा परेका छन्। शव फेला परेको ठाउँमा उनले बोकेको झोलामा तीन हजार सात सय ९० रुपैयाँ र दुई जोडी कुर्तासलवार भेटिएको प्रहरीले जनाएको छ।

महिलाको साथबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सञ्चालन गरेको रात्रि सेवाको ८०८६ नम्बरको बसको टिकट फेला परेको छ। बसको अल्फाबेट भने टिकटमा खुलाइएको छैन। टिकटमा नाम भने पवित्रा मात्रै उल्लेख गरिएको र मुङ्लिनदेखि कोसी ब्यारेजसम्म जाने भनेर लेखिएको छ।

उनको शव पोष्टमार्टमका लागि मोरङको ऊर्लाबारीस्थित मंगलबारे अस्पतालमा राखिएको छ।