बीबीसी – राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल घोषणा गरेका छन् । संकटकाल घोषणासँगै ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने छन् ।
उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने दाबी गरेका छन् । मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरूको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी उनको छ ।
यसैबीच विपक्षी डेमोक्र्याटहरूले भने राष्ट्रपति ट्रम्पको घोषणालाई ‘शक्तिको दूरूपयोग’ भनेका छन् । वरिष्ठ डेमोक्र्याट नेताहरूले उक्त कदमविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । यो मुद्दा अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आकलन गरिएको छ ।
अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय संकट परेका बेला लागू गर्न बनाइएको हो । तर अहिले त्यस्तो संकट नपरेकै बेला राष्ट्रपति ट्रम्पले किन संकटकाल घोषणा गरे भन्ने चर्चा व्यापक हुन थालेको छ ।
राष्ट्रपति ट्रम्पले भने हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको दाबी गरिरहेका छन् । तर आप्रवासीसम्बन्धी विज्ञहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन अमेरिकी संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल निम्त्याउने पहिले नै बताएका थिए ।



