
११ फागुन– चुनाव विरोधी गतिविधिमा सक्रिय रहेको भन्दै रैथाने एकता परिषद्ले सिराहाको लाहनमा मधेसी मोर्चाका नेताहरुको पुतला दहन गरेको छ । मधेसलाई चुनाव आवश्यक रहेको जनाउँदै रैथाने मधेसीहरुले चुनावको विरोधी गतिविधिमा नलाग्न मधेसी मोर्चाका नेताहरुलाई कडा चेतावनी दिएका छन् ।
मधेसी मोर्चाले आव्हान गरेको बन्दको पनि उनीहरुले विरोध जनाए । लहान चोकमा बुधवार परिषदका नेताहरु मनिष चौधरी र बिजय थापाको नेतृत्वमा रैथाने परिषदका कार्यकर्ताहरुले मोर्चाका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव र महन्थ ठाकुरको पुत्ला जलाएका हुन् ।
मधेसी मोर्चाले रैथाने मधेसीलाई कमजोर बनाउन अंगीकृत नागरिकको पक्षपोषण गरेको भन्दै एक महिना अघि लहानमै रैथाने एकता परिषद गठन भएको थियो । लहानमै परिषदले यसअघि ठूलो संख्याको सहभागितामा मोटरसाइकल र्याली आयोजना गरेको थियो । परिषदले स्थानीय चुनाव मधेस र मधेसीका लागि अत्यावश्यक भएकाले त्यसबिरुद्ध लागेका मोर्चाका नेताहरुको पुत्लादहन गरेको बताएको छ । परिषदका अध्यक्ष सन्तोष बराइलीले स्थानीय निकाय चुनावको पक्षमा निरन्तर प्रदर्शन गरिरहने बताए । परिषदले विभिन्न १० बुँदा उल्लेख गर्दै मधेसी जनता स्थानीय चुनावको पक्षमा रहेको जनाएको छ । परिषदले चुनावको पक्षमा लाग्नु पर्ने यस्ता १० वटा कारण खुलाएको छ–
–२०५४ सालदेखि नेपालमा स्थानीय चुनाव भएको छैन । २०५९ देखि स्थानीय निकाय जनप्रतिनिधिविहिन छ । त्यसैले चुनाव अत्यावश्यक थियो । सरकारले बैशाख ३१ गते चुनावको घोषणा गरेको छ । रैथाने एकता परिषद यसको स्वागत गर्छ ।
—स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा कर्मचारीको हालीमुहाली छ । विकास बजेट उनैको हातमा छ । उनीहरुले भ्रष्टचार गरेका छन् । यसको सबैभन्दा पीडा मधेस र मधेसीलाई छ । त्यसैले स्थानीय चुनाव मधेसीका लागि सबैभन्दा बढि आवश्यक छ ।

—स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा केन्द्रबाट आएको बजेट कर्मचारीको हातमा पुगेको छ । अरु जिल्लाबाट आएका कर्मचारीहरुलाई स्थानीय समस्या र विकास गर्नैपर्ने ठाउँ थाहा हुँदैन । अनि, बजेट खर्च गर्न नसकेर फर्किने गरेको छ ।
—स्थानीय निकायमा जनप्रतिनिधि हुँदा स्थानीय समस्या उनीहरुलाई थाहा हुन्छ । कहाँ विकास गर्ने उनीहरुलाई थाहा हुन्छ । केन्द्र, जिल्ला र भोली बन्ने प्रदेशबाट आएको बजेट उनीहरुको हातमा पुग्छ । अनि बजेट खर्च गर्न सकिन्छ । बजेट केन्द्रमा फर्काउनु पर्दैन ।
—स्थानीय चुनाव हुँदा राजनीतिमा आएका युवाहरुलाई चुनिने ठूलो मौका हुनेछ । यस्तो मौका पहाड र हिमालमा मात्र नभएर मधेसका युवाहरुले पनि पाउनेछन् । स्थानीय चुनाव हुन नदिनु भनेको ती युवाहरुलाई अघि बढ्नबाट रोक्नु, खुट्टा तान्नु हो । त्यसैले हामी मधेसका युवालाई स्थानीय चुनाव सबैभन्दा बढि आवश्यक छ ।
—स्थानीय निकायलाई अहिले धेरै अधिकार दिइएको छ । यो ठूलो पनि हुनेछ र योसँग बजेट पनि धेरै हुनेछ । स्थानीय चुनाव भएर स्थानीय निकाय गठन भएपछि यसले विकास निर्माण मात्र नभएर हाम्रो मधेसी, भाषा, कला, संस्कृति जस्ता क्षेत्रलाई उत्थान गर्न बजेट दिएर काम गर्न सक्नेछ ।
—स्थानीय निकाय चुनाव भएमा रैथानेहरु नै निर्वा्चित हुनेछन् । किनभने, मधेसमा अझै रैथाने मधेसी, थारु, पहाडे, दलित, पिछडावर्गकै बहुमत छ । जनप्रतिनिधी बनेपछि उनीहरुकै कुरा समाजले सुन्नेछ । जिल्ला, प्रदेश र केन्द्र सरकारसँग आफ्ना समस्या र मागबारे वार्ता गर्न पनि उनीहरुलाई सहज हुनेछ ।
—स्थानीय निकाय चुनाव हुँदा अहिले चहलपहल गरिरहेका अंगिकृतहरु स्वतः कमजोर हुनेछन् । किनभने, चुनावमा उनीहरुले जित्न सक्नेछैनन् । चुनाव हारिसकेपछि उनीहरुको कुरा समाज, गाउँ, नगर, जिल्ला प्रदेश र केन्द्र कतै पनि सुनुवाई हुनेछैन ।
—स्थानीय निकाय चुनाव भएपछि अहिले जनमत बिनाका मधेसी मोर्चा स्वतः कमजोर हुनेछ । स्थानीय निकायले रैथानेको पक्षमा जनमत छ कि अंगिकृतको पक्षमा जनमत छ भन्ने स्पष्ट गर्नेछ ।
—सबैभन्दा प्रमुख कुरा स्थानीय निकाय चुनाव भएपछि नेपाल देश स्थिरतातर्फ अघि बढ्नेछ । अस्थिरता बढाएर धमिलो पानीमा माछा मार्ने शक्तिहरु कमजोर हुनेछन् । नेपाललाई कमजोर पार्ने बिदेशी शक्तिहरुको षडयन्त्र असफल हुनेछ । त्यसैले स्थानीय निकाय चुनाव अत्यन्तै जरुरी छ । रैथाने एकता परिषदले स्थानीय निकाय चुनावको स्वागत र समर्थन गर्नुको कारण यही हो ।



