नेकपा एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले यही फागुन २१ गते काँकरभिट्टादेखि सञ्चालन गरिने १५ दिने मेची–महाकाली राष्ट्रिय अभियानले एमालेको वास्तविक कार्यक्रमको उजागर गर्ने बताएका छन् ।
अभियान तयारीका सन्दर्भमा जानकारी दिन आज प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको साक्षत्कारमा उनले भने, ‘मेची महाकाली राष्ट्रिय अभियानले नेकपा एमाले अहिले पनि मुलुकको प्रमुख शक्ति हो भन्ने कुरालाई जगजाहेर गरिदिनेछ ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने मानिसहरुलाई विभिन्न बहानामा अलग्याउन खोजिँदै गरेको अवस्थालाई ध्यानमा राखेर, तराई–मधेशका बासिन्दालाई अलग राष्ट्रियताको परिभाषामा राखेर देखाउन खोजिरहेको सन्दर्भलाई केलाएर र कालान्तरमा मधेशलाई नेपालबाट अलग गर्ने दीर्घकालीन योजना बनाइएका कुराहरु आएको सन्दर्भमा नेकपा एमालेले यस्तो राष्ट्रिय अभियान थालेर एकीकृत नेपाल र एकतावद्ध शक्तिको आवश्यकता दर्शाउने प्रयास गरेको हो ।’
प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा पार्टीका वैकल्पिक केन्द्रीय सदस्यद्वय रविन कोइराला र भाष्कर काफ्ले, जिल्ला अध्यक्ष चिन्तन पाठकलगायतको सहभागितामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदीप परियारले गरेका हुन् ।
फागुन २१ गते झापाको काँकरभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेर शुरु हुने राष्ट्रिय अभियानले तराईका २२ वटा जिल्लामा ३५ वटा जनसभा गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी गराए । उनका अनुसार पहिलो दिन नै झापाको बिर्तामोड र दमकमा पनि जनसभा हुनेछन् ।
अभियानमा एमालेका गाउँस्तरसम्मका कार्यकर्ताले अनिवार्य सहभागिता जनाउनु पर्ने, अभियानमा दिनभर समय दिन नसके आफ्नो पायकपर्ने स्थानमा अभियान आइपुगेको समयमा सहभागी बन्नुपर्ने पार्टी निदेशन पनि उनले सुनाए ।
राष्ट्रियता बचाउने उद्देश्यसहितको कार्यक्रममा एमालेका मात्र होइन अन्य राजनीतिक दलहरुले मूल सडकमा भव्य स्वागतद्वार बनाएर यसको समर्थन थालिसकेकोले अभियानमा ५० लाखभन्दा धेरै मानिसले साथदिने अपेक्षा रहेको उनले सुनाए । पार्टी सचिव भट्टराईले अभियानमा पूर्वदेखि पश्चिमसम्म एक हजार जनाले १५ दिनको नियमित यात्रा पूरा गर्ने कार्यक्रम छ ।



