पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार पाउनका लागि आफू योग्य नरहेको बताएका छन्। खासमा पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई उनको देश फिर्ता पठाएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अभियान चलाइएको छ। अभियान चलाउनेहरूको तर्क छ- इमरानले भारतसँग युद्धको सम्भावनालाई टारे, जुन क्षेत्रीय शान्तिको दिशामा ठूलो कदम हो।
त्यसबारे इमरानले ट्विटरमा लेखेका छन्, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन। त्यसका लागि योग्य त्यो हुनेछ जसले कश्मीरी जनताको इच्छा अनुसार कश्मीर विवादको अन्त्य गराउनेछ र यो उपमहाद्वीपमा शान्ति एवम् मानव विकासका लागि मार्ग प्रशस्त गर्नेछ।”
I am not worthy of the Nobel Peace prize. The person worthy of this would be the one who solves the Kashmir dispute according to the wishes of the Kashmiri people and paves the way for peace & human development in the subcontinent.
— Imran Khan (@ImranKhanPTI) March 4, 2019
अभियान
पाकिस्तानमा कैयौँले आफ्ना प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अनलाइन हस्ताक्षर अभियान शुरू गरेका छन्। जसमा तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन्। उनीहरूको मत छ- इमरान खानले भारतीय पाइलटलाई रिहा गरेर छिमेकी भारतसँगको तनावलाई मत्थर पारिदिएका छन् र आफूलाई एक ठूलो नेताका रूपमा उभ्याएका छन्। पाकिस्तान र भारत दुवै परमाणु शक्ति सम्पन्न मुलुक हुन्। भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव शुरू भएको हो। भारतले सो हमलामा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैश-ए-मोहम्मदको हात रहेको बताउँदै आएको छ।
https://twitter.com/mkatju/status/1101785564284518402
त्यसको बदलामा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाहीमा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो र एकजना उसका पाइलटलाई नियन्त्रणमा लिएको थियो। तर भारतीय पाइलटलाई ‘शान्तिको कदम’ स्वरूप उनको देशलाई सुम्पने इमरानको घोषणाले निकै प्रशंसा पायो।
प्रशंसक
प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुस्कार दिइनुपर्ने पक्षमा अभियान चलिरहँदा पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले संसद्मा एउटा प्रस्ताव पेश गरेका छन्। त्यसमा प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने प्रस्तावलाई पारित गर्न भनिएको छ। दुई छिमेकी मुलुकबीचको तनाव कम गर्ने दिशामा इमरानले अप्रत्याशित भूमिका निर्वाह गरेको तर्क गरिएको छ। यो पूरै मामिलामा भारतको सर्वोच्च अदालतका एकजना पूर्व न्यायाधीश मार्कण्डेय काटजुले इमरान खानको प्रशंसा गर्दै ट्वीट गरेका छन्, “यसअघि मैले इमरान खानको आलोचना गर्थेँ, तर उनको भाषण सुनेर अहिले प्रशंसक बनेको छु।”
आफ्नो ट्वीटबारे भारतमा व्यक्त गरिएका प्रतिक्रियातर्फ इङ्गित गर्दै उनले अर्को ट्वीट गरेका छन्। “जब मैले पाकिस्तानलाई झुटो र कृत्रिम देश भनेँ तब पाकिस्तानीहरूले मलाई गाली दिएनन्। अहिले इमरान खानको प्रशंसा गर्दा दर्जनौँ भारतीयले गाली गरे। मलाई देशद्रोही, सनकी र पाकिस्तानपरस्त भनियो। अब तपाईँ नै भन्नूस् को बढी परिपक्व छ?”



