ललितपुर । हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीको श्रीमती विद्याले रविन्द्रलाई राजनीतिमा अब्बल बनाउन आफूले राजनीतिक छोडेको बताएकी छिन् ।
पोखरामा मंगलबार आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै उनले विवाहपछि परिवारको व्यवस्थापन पनि मुख्य कुरा हुने भएकोले दुबै जना राजनीतिमा लाग्दा त्यसमा समस्या हुने भएकोले आफूले राजनीति छोडेको बताइन् ।
‘हाम्रो माया राजनीतिले जोड्यो । जब मैले विवाह गरे त्यसपछि मलाई दुबैजना राजनीतिमा लाग्दा पारिवारिक व्यवस्थापनमा अप्ठ्यारो पर्नसक्छ भन्ने लाग्यो’ उनले थपिन्, ‘उहाँमा एउटा उत्कृष्ट, अब्बल र परिणाममुखी भएर काम गर्नुपर्छ भन्ने सोच थियो त्यसलाई मैले साथ दिनुपर्छ भन्ने मलाई लाग्यो ।’
उनले रविन्द्रको राजनीतिक जीवनमा आफू पछि जोडिएको बताउँदै उनको राजनीतिमा आमाबुबाको ठूलो योगदान रहेको पनि बताएकी थिइन् । ‘उहाँको आजको राजनीतिक उचाइको लागि आमाबुबाले जुन योगदान दिनुभएको छ, एकदमै सह्रानीय छ भन्ने मलाई लाग्छ ।’
परिवारका भाइहरु र बहिनीको योगदान र सहयोग पनि रविन्द्रलाई राजनीतिमा अघि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो ।
विद्याले मन्तव्यका क्रममा आफूलाई सम्हाल्दै प्रस्तुत भइन् । सिंगो पार्टी, देशबासीकै माया र प्रेरणाले आफूले बोल्न सकेको बताउँदै उनले आफ्नो भनाइ अघि बढाएकी थिइन् । राविन्द्रको सपना पूरा गर्न सिंगो पार्टी नै लाग्नेपनि विद्याको आशा थियो ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको गएको बुधबार हेलिकप्टर दुर्घटनामा परि ज्यान गएको थियो ।









