
बिष्णुप्रसाद पोखरेल
पैसाले पैसा कमाउछ भन्ने त सुनिएकै हो तर अब पैसा खेलाउने र आफूलाइ धनाड्य बताउनेहरु समेत गम्भिर आर्थिक संकटमा पर्न थालेको तथ्य सवाल नेपालले फेला पारेको छ । महगो ब्याजमा पैसा लिएर जग्गाको कारोबार तथा अन्य कारोबार गर्नेहरु संकटमा फस्दै गएको बताइन्छ । करोडौ रुपिया ठगिको आरोपमा दमकका मोतीराम अधिकारी पक्राउ परेपछि अरु धेरै त्रसित बनेको श्रोतले बताएको छ ।
मिटर ब्याजमा पैसा लगाउनेहरु दमकका नाम चलेका र सामाजिक रुपमा चिनिएकाहरु रहेकाछन् । उनिहरुले दैनिक र मासिक रुपमा चर्को मूल्यमा अप्ठेरो परेकाहरुलाई रकम उपलब्ध गराउछन् । चलनचल्ति र सरकारले तोकेको ब्याजदरभन्दा दशगुणाबढि सम्म ब्याजमा पैसा लेनदेन हुने गरेकाले यसलाइ मिटर ब्याजको रुपमा परिभाषित गरिने गरेको छ ।
१० लाख रुपिया साँवा दिएकाहरुले २५ लाख रुपियासम्म ब्याज लिएको र साँवा बाँकी नै रहेका घटनाहरु समेत आज÷भोली नै सार्वजनिक हुने अवस्थामा पुगेको श्रोतको दाबी रहेको छ । अधिकारी पक्राउ परेपछि इलाका प्रहरी कार्यालय परिसरमा आएका ब्यापारीहरु मिटर ब्याजको बिषयमा कुरा उठाएपछि यसमा लब्धप्रतिष्ठित ब्याक्तिहरुको नाम जोडिएको हो । एक ब्यावसायिले भने–‘बिश्वास नै गर्न नसकिने ब्याक्तिहरु समेत मिटर ब्याजमा पैसा लगाएर ठगि कार्यमा संलग्न रहेको सुन्दा अचम्मित भएको छु ।’
अधिकारीले आफ्नो डायरीमा लेखेको नाम र दिएको बयानको प्रतिक्षामा आइतवार दिनभर सर्वसाधरणदेखि लब्धप्रतिष्ठित ब्याक्तिहरु बसेका थिए । मिटर ब्याजको बिषयमा यो घटनाले धेरै कुरा खुल्ने अनुमान गरिएको छ । अधिकारीले साँवा लिएको भन्दै ४ गुणासम्म ब्याज रकम बुझाएको चर्चा बजारमा रहेको छ । त्यसरी ब्याज लिएको रकम फिर्ता गराउनु पर्ने सम्मका आवाजहरु उठ्न थालेका छन् । यसको प्रमाणित भने भएको छैन ।
दमकमा एकबर्ष अघिदेखि मिटर ब्याजको बिषयमा धेरै चर्चा शुरु भएको हो । केहि ब्याक्तिहरुले यसलाई नै प्रमुख ब्यवसाय बनाएको समेत बताइन्छ । बैकबाट र नजिकका साथीभाइसंग सस्तो ब्याजमा पैसा लिएर धेरै कमाउने भन्दै महगो ब्याजमा पैसा लगाउने कार्यलाइ मिटर ब्याजको रुपमा ब्याख्या गरिएको पाइन्छ ।



