धनुषाधाम । सिके राउत जनकपुर पुगेका छन् । उनी काठमाडौंबाट जनकपुर पुगेका हुन् । जनकपुर विमास्थल पुग्दा राउतलाई कार्यकर्ताहरुको जमातले स्वागत गरेको थियो ।
राउतका कार्यकर्ताले स्वतन्त्र मधेस लेखिएको झण्डा प्रदर्शन गरेका थिए, लुगा लगाएका थिए, उनीहरुले स्वतन्त्र मधेसको पक्षमा नारावाजी पनि गरेका थिए ।
स्वतन्त्र मधेसको नारा लगाउनु र झण्डा बोक्नु ११ बूँदे सहमति विपरित मानिएको छ । राउतको पक्षबाट सहमतिमा परेको जनअभिमत शब्दलाई जनमत संग्रहको अर्थमा व्याख्या गर्ने काम भइरहेको छ ।
गृहमन्त्री रामबहादुर थापाले आइतबार प्रतिनिधिसभा वैठकमा बोल्दै जनअभिमत भनेको जनमत संग्रह होइन र जनमत संग्रहको सहमति नभएको तथ्य सार्वजनिक गरिसकेका छन् ।
राउतले आज जनकपुरबाट कार्यकर्ता भेटघाट थालेका छन् । जनकपुर पछि उनी तराईका विभिन्न जिल्ला जाने बताइएको छ । कार्यकर्ता भेटघाटपछि राउतले पार्टी कसरी घोषणा गर्ने भन्ने निर्णय गर्ने भएका छन् ।
राउतको समूहले जनमत संग्रह गर्ने सहमति भएको भन्दै प्रचार गरे पनि राउत स्वयंले भने जनमत संग्रहबारे अहिलेसम्म बोलेका छैनन् । सहमति घोषणा समारोहमा उनले जनमत संग्रह गर्ने सहमति भएको आशयको अभिव्यक्ति भने दिएका थिए ।
राउतले कार्यकर्ता भेटघाटको क्रममा जनअभिमत र जनमत संग्रह शब्दबारे ठोस धारणा राख्ने अपेक्षा गरिएको छ ।
गृहमन्त्री थापाले जनअभिमतलाई जनमत संग्रह भनेर धोका दिएमा राउत आफै सक्किने विचार राखिसकेका छन् ।सनराइजखबर




