उर्लाबारी । खोटाङ घर भएका ३५ वर्षीय शीतल राई तीन सन्तान र श्रीमतीसहित मोरङको उर्लाबारीमा भाडामा बस्छन् । शीतल गत असारमा विदेशबाट फर्किएर स्वदेशमै मजदुरी गर्दै आएका थिए । उनकै परिश्रमले पाँच जनाको परिवार चल्दै आएको थियो । शीतलकी श्रीमती श्रीकुमारीका अनुसार छोरीहरू नर्सरी, युकेजी र पाँच कक्षामा पढ्छन् । गत १८ पुसमा शीतल मोटरसाइकल दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ मोटरसाइकलमा जाँदै गर्दा दक्षिणबाट आउँदै गरेको अर्को मोटरसाइकलले दमक चिया बगाननेर शीतललाई ठक्कर दियो । ‘टाउकोमा ठूलो चोट लाग्यो, डाक्टरले खोपडी निकालेका छन्,’ श्रीकुमारी भन्छिन्, ‘एकपाटो शरीर चल्दैन, वेला–वेला बेसुरको कुरा गर्नुहुन्छ ।’ बिर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार पश्चात शीतललाई घर ल्याइएको छ । दमक–४ का नरबहादुर खड्का सवार मोटरसाइकलले शीतललाई ठक्कर दिएको उनी बताउँछिन् । घटनापछि दुई परिवार बसेर शीतलको उपचारमा आधा–आधा रकम व्यहोर्ने सहमति समेत भयो । तर, हालसम्म खड्का परिवारबाट १ लाख ५ हजार रुपैयाँ मात्र प्राप्त भएको उनले बताइन् ।
परिवारको आर्थिक स्थिति कमजोर भएको उनीहरु यतिबेला सहयोगी हातको खोजीमा छन् । उक्त परिवारले ऋणपान गरेर हालसम्म सात लाख रुपैयाँ खर्च गरिसकेको छ । अझै अस्पतालमा आठ लाख जति तिर्न बाँकी छ । यतिबेला राई परिवार सहयोगी हातको खोजीमा रहेको छ ।









