विराटनगर, चैत ३

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने स्पष्ट पार्नुभएको छ । विभिन्न छापामा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भईरहेको समाचार आईरहेका बेला उहाले अहिले त्यस्तो कुनै योजना नभएको बताउनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोरङ र सुनसरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमास्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पार्नुभयो । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उहाले भन्नुभयो,‘पुनर्गठन हुँदैन।’

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द समुहलाई अनधिकृत झुण्डको संज्ञा दिनुभयो । उहाले निर्वाचन आयोगसहित कहिं कतै दर्ता नभएको समुहलाई सरकारले नचिन्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले चन्द समूह राजनीतिक दल नभएको उल्लेख गर्दै सो समूहले गरेका ध्वंसात्मक गतिविधि माथि मात्र सरकारले प्रतिबन्ध लगाएको उल्लेख गर्नुभयो ।

चन्द समुहलाई सरकारले लगाएको प्रतिवन्धबारे नेकपा भित्रैबाट बिरोध भएपछि प्रधानमन्त्री ओलीले सो समुहबारे धारणा राख्दा बिचार पु¥याउन नेताहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालका नेताजीहरूलाई आग्रह गर्न चाहन्छु, आफैंले जवाफ दिन नसक्ने कुराहरू नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन। नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने। बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताउनुभयो ।