काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
बिहीबारबाट काठमाण्डुमा सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र सञ्चालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न पनि उद्योगीहरूलाई आग्रह गरे । उनले उद्योगीहरूलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिवद्ध रहेको बताए ।
उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरूको सुझाव अनुसार आवश्यक ऐन, कानुनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराइन् ।




