नयाँदिल्ली एजेन्सी । भारतमा आगामी लोकसभा निर्वाचनका लागि बिहीबार पहिलो चरणको मतदान भएको छ । विभिन्न राज्यका ९१ सिटका लागि बिहीबार पहिलो चरणमा मतदान भएको हो । केही राज्यमा भने लोकसभा र विधानसभाका लागि एकै पटक मतदान भएको छ ।
पहिलो चरणमा १८ राज्य र २ केन्द्र शासितका ९१ सिटका लागि मतदान भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । उत्तरप्रदेश, पश्चिम बंगला, महाराष्ट्र, बिहार आन्ध्र प्रदेश, अरुणचल प्रदेश, सिक्किम, ओडिशा, तेलंगाना, राजस्थान, जम्मू कश्मीरm छत्तीसगढलगायत राज्यमा पहिलो चरणमा मतदान भएको छ ।
यस्तै आन्ध्र, अरुणाचाल, सिक्किम ओडिसाको विधानसभाका लागि पनि मतदान भएको छ , पहिलो चरणमा करिब ५५ प्रतिशभन्दा धेरै मत खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपी भारतीय निर्वाचन आयोगले मतदान प्रतिशत बढ्न सक्ने बताएको छ । पहिलो चरणमा भएको मतदानमा १२७९ उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै १४ करोड २० लाख मतदाता रहेका थिए । भारत संसारै सबैभन्दा ठूलो लोकतन्त्र भएको देश मानिन्छ । यो पटक भारतमा करिब ९० करोड मतदाता रहेका छन् । मतदाताको संख्याका हिसाबले यो संसारकै सबैभन्दा ठूलो हो ।
७ चरणमा हुने निर्वाचनको मतदानको बिहीबार शुरु भएको छ । अन्तिम चरणको मतदान मे १९ तारिखमा हुनेछ । मतगणना भने मे २३ मा शुरु हुने छ । भारतमा ग्रामीण क्षेत्रमा मतपत्रद्वारा मतदान हुन्छ भने शहरी क्षेत्रमा विद्युतीय मतदान हुने व्यवस्था छ । बिहीबार पहिलो चरणको मतदानमा सबैभन्दा संवेदनशील मानिएको छत्तीसगढ र जम्मू कश्मीरमा पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले मतदान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उता तेलंगानामा भने एकजना नेता चुनावी झडपमा परेर मारिएका छन् । आन्ध्रप्रदेशको अनन्तपुरमा टीडीपी र आईएसआरसीपी पार्टीका कार्यकर्ताबीच हिंसात्मक झडप भएको छ । यस हिंसामा टीडीपीका स्थानीय नेता चिन्ता भास्कर रेड्डीको मृत्यु भएको छ । वाईएसआर काँग्रेसका कार्यकर्ताहरुसँगको झडपमा उनी गम्भीर घाइते भएका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उता पहिलो चरणको मतदानका बीच काँग्रेस आईकी पूर्व अध्यक्ष तथा यूपीए गठबन्धनकी संयोजक सोनिया गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र राय बरेलीमा बिहीबार उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्ताका क्रममा आमा सोनिया गान्धी, छोरा पार्टी अध्यक्ष राहुल गान्धी, छोरी पार्टी महासचिब प्रियंका गान्धी बाड्रा, ज्वाई रोबर्ट बाड्रा र नातिहरुसहित पूरा गान्धी परिवार रायबरेलीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उम्मेदवारी दर्ता गर्नुअघि सोनिया गान्धीले पार्टी कार्यालयमा एक धार्मिक अनुष्ठानसमेत गरेको जनाइएको छ ।
यस्तै रायबरेलीमा गान्धी परिवारले रोड शोसमेत गरेको थियो । र कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सोनिया गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी अजय नभएको भन्दै २००४ मा पनि अटल बिहारी वाजपेयीलाई काँग्रेस पराजित गरेको स्मरण गराइन् ।
यसैबीच सोही कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष राहुल गान्धीको सुरक्षाका विषयमा लिएर उत्तरप्रदेश प्रशासनमाथि प्रश्न उठाइएको छ । काँग्रेसले गृहमन्त्रालयलाई पत्र लेखेर सुरक्षाबारे चासो राखेको छ । समाचारअनुसार बिहीबार राहुल गान्धीले सम्बोधन गर्दैगर्दा उनको टाउकोमा ७ पटक लेजर लाइट परेको थियो । सो लाइट स्नाइपर बन्दुकको रहेको काँग्रेसले जनाएको छ ।
तर, सुरक्षाकर्मीले भने सो लाईट क्यामेराको भएको बताएका छन् । स्मरण रहोस गान्धी परिवारका तीन जनाको हत्या भएको थियो । त्यसैले भारतमा गान्धी परिवारको सुरक्षाका विषयमा निकै चासो राखिन्छ । महात्मा गान्धी, तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी र तत्कालिन प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको थियो ।



