काठमाडौं
सरकारले अन्तराष्ट्रिय समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्च निर्माण गर्ने भएको छ । ‘सगरमाथा डायलग’को नाममा विश्वका विभिन्न देशबाट विज्ञलाई उपस्थित गराएर ति विषयमा छलफल गराउने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा डायलग मञ्च बनाउने निर्णय गरेको बताइएको छ । अन्तर्राष्ट्रिय महत्त्वको समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्चको आवस्यकता महसुस गर्दै मन्त्रिपरिषद परिषदको बैठकले यस्तो मञ्च निर्माणको निर्णय गरेको जनाइन्छ ।।
यस्तै, सबै तहका सरकारको पहलमा शिक्षा मन्त्रालयद्वारा विद्यार्थी भर्ना अभियान चलाउने निर्णय गरेको छ । सरकारले २०६१ सालदेखि यता हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरू हुनुपूर्व विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ। गत वर्ष प्रधानमन्त्रीदेखि नेतासम्मले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गरेका थिए।
अझै ९० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर छन् । विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरी शिक्षा दिने सरकारको तयारी छ। विद्यालय भर्ना भएका अधिकांश बालबालिका अन्तिम परीक्षा दिने बेलासम्म टिक्दैनन्, बीचैमा कक्षा छाड्छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्यातऔं’ भन्ने नारासहित विद्यार्थी भर्ना अभियानलाई सघाउन सबैमा अपिल गर्नुभयो ।




