
राजधानीमा रहेको एसआरएस म्यानपावरले एक सय बढिलाई ठगेको खुलासा भएको छ ।
उसले साढे ८ लाख रुपैयाँसम्म लिएर सुरक्षा गार्डका निम्ति एकसय बढि युवालाई संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको हो ।
एसआरएस म्यानपावरलाई कारबाही गर्न त्यहाँस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको उच्च स्रोतको दावी छ ।
दूतावासले पीडितलाई टिकट उपलब्ध गराउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रर्वधन बोर्डलाई अनुरोध गरेको छ ।
यूएईको हिमाया सेक्युरिटी सर्भिसमा कामविहीन भएपछि १ सय १७ नेपाली कामदारले आफूहरूमाथि अन्याय भएको भन्दै नेपाली दूतावासमा उजुरी गरेका थिए ।
त्यसमध्ये ५२ जना सुरक्षा गार्डलाई एसआरएसले पठाएको थियो । बाँकी कामदारलाई दलालले भिजिट भिसामा यूएई लगेका थिए । उनीहरू आठ महिनादेखि कामविहीन भएर बसेका छन् ।
दूतावासले मानव तस्करीको शैलीमा सेटिङ गरेर यूएई पुयाउन भूमिका खेल्ने एजेन्ट ओमबहादुर थापा र सुमेरा म्यानपावरका देवेन्द्र कार्कीलाई समेत कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।



