काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ। भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन्।

भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै, चिनियाँ समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने तयारी छ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभाका सांसदहरु, उच्च पदस्थ कर्मचारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहने छन्।