
२६ फागुन – कञ्चनपुरको सिमावर्ती क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीको गोली लागेर एक नेपालीको ज्यान गएपछि दुई देशका उच्च अधिकारीहरू छलफलमा जुटेका छन् । नेपाली पक्षका प्रहरी अधिकारी र भारतीय पक्षका प्रहरी अधिकारी अहिले छलफलमा छन् । आनन्द बजार नजिकै नेपाली पक्षले बनाउँदै गरेको कल्भर्ट भारतीय सिमानामा परेको भन्दै एसएसबीले कल्भर्ट निर्माण नगर्न धम्की दिएको थियो ।
त्यसपछि नेपाली पक्ष एसएसबीसँग असन्तुष्ट भएका थिए । बुधवार साँझ एसएसबीका जवान नेपाली सिमामा आइ नेपाली युवालाई कुटपिट गरेपछि नेपालीहरू आक्रोशित भएका थिए । बिहीवार बिहानैदेखि नेपाली नागरिले भारतीय एसएसबीको गतिबिधिमा बिरोध जनाउँदै प्रदर्शन गरेका थिए । सोही प्रदर्शन उत्कर्षमा पुगेको हो ।
करीब २० दिनदेखि सो क्षेत्रमा कल्र्भट निर्माणको विषयमा विवाद भइरहेको थियो । भारतीय पक्षले गुगल म्यापमा सो क्षेत्र आफूहरुको पर्ने बताउने गरेको र नेपाली पक्षले पनि सो ठाउँ आफूहरुको क्षेत्रमा पर्ने बताउँदै आएका थिए ।
सोही क्रममा बढेको तनाब उत्कर्षमा पुगेको हो । प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको हो । कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । तर उनलाई अस्पपताल पुग्ने वित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । प्रदर्शको क्रममा ढुंगा लागेर सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सहित थप १५ जना घाइते भएका छन् ।



