
२६ फागनु । प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व छाड्न सुझाव दिएका छन् । राजधानीमा एमालेले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘वैशाख ३१ मा निर्वाचन गर्न सक्नुहुन्न भने राजिनामा दिनुहोस,’ ओलीले भने, ‘हुनखोज्ने प्रधानमन्त्रीजीलाई पनि म भन्न चाहन्छु, निर्वाचन गर्न सक्नुहुन्न भने तपाईँ पनि प्रधानमन्त्री नबन्नुहोस् ।’
प्रधानमन्त्री सरुवा–वढुवाका लागि मात्र नभएको भन्दै देश सम्वृद्धिका लागि हुनुपर्नेमा उनले जोड दिए । ‘लोकतन्त्र भनेको हुलियातन्त्र होइन,’ ओलीले भने, ‘कसैबाट निर्देशित संविधान संशोधनको एजेण्डा बोकेर सरकारमा रहनुको कुनै औचित्य छैन ।’
काँधमा बोकेको कुकुरले मृग मार्दैन
ओलीले सम्वोधनका क्रममा डाक्टर बाबुराम भट्टराईलाई ‘काँधमा बोकेको कुकुरको संज्ञा दिए । ‘एक जना डाक्टर उपाधीवालाले एमाले रहित पार्टी बनाउने उर्दी जारी गरेछन्,’ भट्टराईप्रति लक्षित गर्दै ओलीले भने, ‘विचरा विचारका पुराना नामका नयाँ डाक्टरको मलाई मायाँ लागेर आयो । काँधमा बोकेको कुकुरले मृग मार्दैन भनेको यही हो ।’
मधेसी नामको मोर्चाका कारण सप्तरी घटना
ओलीले मधेसी मोर्चा नामको समुहले सप्तरी घटना घटाएको दाबी गरे । ‘उनीहरुको एमाले अभियानमा मान्छे मार्ने पूर्व निर्धारित योजना नै हो,’ उनले भने, ‘हजारौँ प्रहरीले पनि थाम्न नसक्ने त्यो घटना शान्तिपूर्ण हुन्छ, सामूहिक हत्या गर्ने प्रयासलाई सुरक्षाकर्मीको संयमता र सचेतताले जोगाइदियो ।’ उनले आक्रमण गर्दा पनि प्रहरी संयम भएको भन्दै धन्यवाद दिए ।
प्रचण्डलाई दिएको समर्थन फिर्ता मोर्चाले चाहेर हुँदैन
ओलीले मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर हल्ला चलाएको आरोप लगाए । ‘उनीहरुले दिएको हो र फिर्ता हुनलाई,’ ओलीले भने, ‘उनीहरुले भनेर फिर्ता हुँदैन । सात दिने अल्टिमेटम पनि उनीहरुले दिएका हुन् र अरुकै इशारामा उनीहरु नाचेका मात्र हुन् ।’



