काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अक्षर सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले काष्ठमण्डप निर्माण समितिको आगन्तुक पुस्तिकामा आफ्नै हातले लेखेर पुननिर्माण कार्यको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीको हस्त लेखौट उनकै प्रेस संयोजक चेतन अधिकारीले सार्वजनिक गरेका हुन् । ओलीले लेखेको १३ लाइन हेर्दा उनी सटिक र शुद्ध नेपाली लेख्छन् भन्ने देखिन्छ ।
आगन्तुक पस्तिकमा उनले ‘हाम्रा पुर्खा महान छन्’ लेखेका छन् ।
यसै बीच प्रधानमन्त्री ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त संरचना निर्माण भइसक्ने बताएका छन् ।
गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताए ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गर्दै भने– ‘नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपाललाई विद्वानहरुको देश भनेर पनि चिनाउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरुको निरक्षण गरेका छन् । उनले बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रमा पुनर्निर्माण गर्दा मौलिकता जोगाउन निर्देशन दिएका छन् । सनराइज खबर बाट साभार



