बैदेशिक रोजगारीमा गएका युवामध्ये कतिमा रगत रोग देखिन थालेको छ। विशेष गरी कतार, मलेसिया, दुबई, साउदी लगायतका मुलुकबाट महिनामा ३ देखि ४ जना यो रोग लिएर जँचाउन आउन थालेका छन्। उनीहरुमा अप्लाष्टिक एनिमिया (बोनम्यारो सुक्ने) र ल्युकिमिया (ब्लड क्यान्सर) जस्ता रगतका रोग भएको भेटिन्छ। यस्तो हुनुको ठोस कारण त छैन तर काम गर्ने ठाउँ र त्यसबाट निस्किने रसायनिक तत्वका कारण रोग लागेको हुनसक्ने देखिन्छ।

यो रोग हुनसक्ने पहिलो कारणमा पेट्रोलियम, रबर र पेन्ट उद्योग हुन सक्छन्। यहाँ बेन्जिन नामक रसायानिक तत्व हुन्छ । जसको अत्याधिक सम्पर्कले रगतको रोग निम्त्याउँछ । यसैगरी विकिरणका कारण पनि यो रोग लाग्छ । विकिरणयुक्त क्षेत्रमा काम गर्दा पूर्ण सावधानी नअपनाएर यसबाट ग्रसित भएको पनि पाइन्छ । अन्य कुनै क्यान्सर भएर किमोथेरापी दिइएकालाई पनि रगतको रोग हुने जोखिम उच्च हुन्छ। कुनैपनि औषधिको साइड इफेक्ट र इन्फेक्सनले पनि अप्लाष्टिक एनिमिया नामको रगतको रोग निम्त्याएको हुन सक्छ।

रगत रोगका लक्षण ?

रगत सम्बन्धि रोग विविध भएपनि लक्षणकै आधारमा ठ्याक्कै यो रोग भनेर छुट्याउन सकिदैन। रगत रोगका केही साझा लक्षण यसप्रकार छन्।

हेमोग्लोबिन घटबढ भयो भने काम नगरेपनि जिउ थाक्ने, आँखा राम्ररी हेर्न मुश्किल हुने, कान कराउने आदि हुन्छ।

ह्वाइट ब्लड सेलको कमी भयो भने घाउ भइरहने, निमोनिया भइरहने हुन्छ।

ब्लडमा प्लेटलेट कम भयो भने काटिएको घाउको रगत नरोकिने हुन्छ।

शरीरमा निलो डाम देखिने र थोरै ठोकिदा पनि निलो डाम लामो समय बस्ने हुन्छ।

गिँजाबाट, रगत बगिरहने, नाकबाट पनि बारम्बार रगत बगिरहने हुन्छ।

रिंगाटा लाग्ने र छाला पहेँलो हुँदै जान सक्छ।

मुखमा र दिंसा गर्ने ठाउँमा घाउ आइरहने हुन्छ।

खुट्टाको कुनै एउटा भाग सुन्निन्छ।

सिकलसेलमा मांसपेशी र हड्डी दुख्ने गर्छ।

घाँटी, काखी र काछमा गाँठागुठी आउँछन्।

बच्ने उपाय

आफूले काम गर्ने ठाउँ वा उद्यागबारे जानकारी लिनुपर्छ र त्यो अनुसार होसियारी अपनाउनुपर्छ।

पेट्रोलियम, रबर र पेन्ट उद्योगमा काम गर्न जानेले त्यहाँ बेन्जिन नामक रसायन कति प्रतिशतसम्म छ भन्ने जानकारी लिनुपर्छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार भए–नभएको थाहा पाउनुपर्छ।

माथिका लक्षण देखिएका तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्ससँग सल्लाह लिनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय