बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च) मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन्। मोटरसाइकलमा आएका आक्रमणकारीले चर्चभित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए।
एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए। सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै चर्चमा आक्रमण हुनेक्रम बढेको बताए।
उनले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवस्था कडा पारिएको पनि जानकारी दिए। उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन्।
इन्टरनेसन क्राइसिस ग्रुपले पछिल्ला दिनहरुमा श्रीलंका समेत विश्वका कतिपय मुलुकमा चर्चमाथिका आक्रमण बढेर गएको भन्दै चिन्ता व्यक्त गरेको छ। केही दिन अगाडि मात्रै श्रीलंकामा यस्तै आक्रमण हुँदा साढे २ यस भन्दा बढीको ज्यान गएको थियो।



