बिराटनगर, बैशाख १७
प्रदेश १ को मन्त्रिपरिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको हो ।
यता लामो समयदेखि अन्योलपूर्ण अवस्थामा रहेको प्रदेश १ को राजधानी र नामको विषय टुँगो लगाउन बाटो खुलेको छ । प्रदेश १ का प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ को बृहत विराट क्षेत्र विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रमाणिकरण गरेका छन । तुम्बाहाङले मंगलबार विधेयक प्रमाणिकरण गरेसँगै प्रदेशसभालाई प्रदेश १ को राजधानी र नामको विषय टुंगोमा पुर्याउन बाटो खुला भएको हो ।
नेपालको संविधानको धारा २०१ (१) र प्रदेश १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १११ बमोजिम प्रदेश सभाको वैशाख १५ गते बसेकोे तेस्रो अधिवेशनको ३३ औं बैठकले यो विधेयक पारित गरेको थियो । यस विधेयकमा १२ धारा छन । मोरङ र सुनसरी जिल्लाका विभिन्न १८ वटा स्थानीय तहलाई समेटेर वृहत्त विराट विकास क्षेत्र बनाउने विधेयकमा उल्लेखित छ । विराट क्षेत्र निर्माणका लागि समिति गठन गरिने छ ।
भौतिक पूर्वाधारमन्त्रीको अध्यक्षतामा बन्ने समितिमा महिलासहित ३ प्रदेश सभा सदस्य, १८ स्थानीय निकायबाट ३ र इन्जिनियर, कानुन , व्यवस्थापन, सहरी योजना विषयका विज्ञ मध्येबाट १ महिलासहित ३ जना, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मध्येबाट १ सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र प्रमुख कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ। समितिमा रहनेको मनोनयन प्रदेश सरकारले गर्ने छ।
आयोजनाको ढाँचा, खाका र मापदण्ड निर्माण गर्न प्रदेश १ सरकारले वृहत्त क्षेत्र विकास समिति गठन गर्न लागेको हो । प्रदेश १ का प्रमुख तुम्बाहाङले हालसम्म २७ वटा विधेयक प्रमाणिकरण गरिसक्नु भएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको निर्देशन अनुसार प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्यलाई वैशाख १९ गतेभित्र प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्न गत आइतबार नै सूचना प्रकाशित गरिसकेको छ ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव बैशाख १९ गते भित्रमा प्रदेशसभा सचिवालयमा दर्ता गराउनु पर्नेछ। प्रदेश सभा बैठक सुरू भएदेखि नै प्रदेशको नाम र स्थायी राजधानीका विषयमा संसदले बैठकमा पटक–पटक कुरा उठाए पनि यसले बल्ल औपचारिकता पाएको हो ।
प्रदेशको नाम र स्थायी राजधानीका विषयमा विभिन्न खालका चर्चा पनि चलेका छन । प्रदेशको नाम कोसी, सगरमाथा, किराँत, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग रहेको छ । पछिल्लो चरणमा कोसी, किराँत र सगरमाथा चर्चामा छन । यस्तै स्थायी राजधानीका विषयमा पनि विभिन्न दावी रहेका छन । स्थायी राजधानीका लागि विराटनगर, इटहरी, धरान, गोठगाउँ र धनकुटा प्रमुख रहेका छन ।




