सियोल। प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ।

बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य सङ्कट उत्पन्न भएको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत वर्ष चलेको तातो हावा र ज्यादै कम वर्षादका कारण समस्या अझ बढेको हो। उत्तर कोरियाली रेडक्रसको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आइएफआरसी) ले उत्तर कोरियाका लागि विपद राहत आपतकालीन कोषका लागि अन्तर्राष्ट्रिय रुपमै आह्वान गर्ने तयारी भइरहेको आइएफआरसीले जनाएको छ।

बाली भित्र्याउने आगामी सेप्टेम्बर महिना अघि नै उत्तर कोरियाली नागरिकलाई थप खाद्यान्नको जरुरत छ। तर ज्यादै कम वर्षा भएका कारण हिउँदे बालीको उत्पादन ज्यादै कम भएको छ । यसले छ महिना धान्न मुस्किल छ।

प्रतिवेदनमा खाद्य असुरक्षाको अवस्थाले विकराल रुप लिने देखिइसकेको उल्लेख छ। सन् २०१८ मा उत्तर कोरियाको खाद्य उत्पादन ४९ लाख ५० हजार टन भएको थियो। यो विगत दशकमै सबैभन्दा कम उत्पादन हो। कूल जनसंख्याको करिब ४१ प्रतिशत जनतालाई खाद्यान्न अभाव रहेको र ५ वर्षभन्दा कम उमेरका बालबालिका पर्याप्त खानाको अभावमा स्वास्थ्य जोखिममा परेका छन्।

आइएफआरसीले उत्तर कोरियाको खाद्यान्न स्थितिका बारेमा एक साताभित्रै प्रारम्भिक अध्ययन गर्ने जनाएको छ। उत्तर कोरियाले खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रम जस्ता विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था मार्फत खाद्यान्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिसकेको छ। (रासस-योनहाप)