भुवनेश्वर, बैशाख २१/ शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ। प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। आँधी र बर्षाले रुख र विजुलीका पोलहरु ढलाएको छ भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पुर्याएको समाचारमा जनाइएको छ।

विषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र बर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गर्नुभएको छ । बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो। उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए ।

त्यस्तै सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो । त्यस्तै छ सय व्यक्ति बेपत्ता भएका थिए । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले आउने र ठूलो धनजनको क्षति हुने गरेको छ।