काठमाडौं – पाकिस्तानको लाहौरमा बुधवार दाता दरबार मन्दिरको सुरक्षा भ्यानलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी नौजनाको मृत्यु भएको छ । मारिनेमा पाँच प्रहरी, तीन नागरिक र एक आत्मघाती आक्रमणकारी छन् । किंग एडवर्ड मेडिकल विश्वविद्यालयका उपकुलपति खालिद गोन्दालले चारजनाको अवस्था गम्भीर रहेको बताए ।

घाइतेमध्ये केहीलाई मायो अस्पतालमा पनि भर्ना गरिएको छ । पञ्जाब प्रान्तका आईजीपी अरिफ नवाजले एलिट फोर्स सुरक्षाकर्मीका पाँच जवान विस्फोटमा मारिएको पुष्टि गरे ।
घटना स्थानीय समयअनुसार, बिहान पौने ९ बजे भएको हो । दाता दरबारको गेट नं २ मा रोकेर राखिएको प्रहरीको गाडीमा विस्फोट गराइएको थियो ।
विस्फोटको असरले नजिकैका वाहन र भवनहरूका शीशा फुटेको प्रत्यक्षदर्शीहरूले बताए ।
आक्रमण एक आत्मघाती आक्रमणकारीले गराएको प्रहरी अधिकारीहरूको आशंका छ । प्रारम्भिक अनुसन्धानले बममा सात किलोको विस्फोटक सामग्री भरिएको देखिएको छ ।
प्रहरीले उक्त मन्दिर जाने मुख्य चौबाटोहरूमा चेकपोइन्ट राखेको छ र अस्पतालहरूलाई सतर्क अवस्थामा राखिएको छ, अधिकारीहरूले रोयटर्स समाचार संस्थालाई बताए ।
घटनापछि मन्दिर तत्कालै खाली गरिएको थियो र भक्तहरू विस्फोट भएको क्षेत्रबाट अलि परका द्वारबाट निस्केका थिए । दाता दरबारमा अहिले कसैलाई पनि पस्न दिइएको छैन ।
उद्धार कार्य र अनुसन्धानका लागि आक्रमणस्थललाई घेराबन्दी गरिएको छ ।
डन डट्कमबाट



